
काठमाडौं ।
भारतको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी कम्पनी हिरो मोटोले आफ्नो पहिलो विद्युतीय स्कुटर हिरो भिडा (Hero Vida) सार्वजनिक गरेको छ।
विगत केही वर्षयता विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनको बिक्री बढेको छ। यद्यपि, हिरोले यस खण्डमा आफ्नो शुरुवातमा ढिलाइ गरेको छ, जसले एथर इनर्जी र ओला इलेक्ट्रिक जस्ता स्टार्टअपहरूलाई फाइदा पुर्याएको छ।
हिरो मोटोका अध्यक्ष पवन मुंजालले भने, “हामी यो उत्पादनलाई पहिले लन्च गर्न चाहन्थ्यौं तर यसलाई सहि र राम्रो बनाउन चाहन्छौं।’
भारतमा कुल दुई पाङ्ग्रे सवारी साधनको बिक्रीको करिब दुई प्रतिशत हिस्सा ई-स्कुटर र ई-बाइकको हो। यसलाई सन् २०३० सम्ममा ८० प्रतिशतमा पुर्याउने योजना छ।
हिरो मोटोको यस खण्डमा पहिलो मोडल भिडा प्लसको मूल्य करिब १,४५,००० रुपैयाँ रहेको छ। एक पटकको चार्जमा यसको न्यूनतम दायरा १४३ किलोमिटर हुनेछ। यसको मूल्य देशमा बिक्री हुने अधिकांश विद्युतीय स्कुटरभन्दा महँगो भएको मिडिया रिपोर्टमा उल्लेख छ। यसको बुकिङ अक्टोबर १० देखि सुरु हुनेछ।
हिरो मोटोले यस खण्डमा आफ्नो पहिलो मोडल लन्च गर्नुअघि केही इलेक्ट्रिक गाडी स्टार्टअपहरूमा लगानी गरेको थियो।
सेप्टेम्बरमा, कम्पनीले संयुक्त रूपमा विद्युतीय मोटरसाइकल विकास गर्न अमेरिकाको जीरो मोटरसाइकलसँग ६० मिलियन डलर लगानी गर्ने घोषणा गरेको थियो। यस वर्षको सुरुमा, कम्पनीले एथरमा ५६ मिलियन डलर भन्दा बढी लगानी गरेको थियो। गत वर्ष, यसले ब्याट्री साझेदारी पूर्वाधारको लागि ताइवानको गोगोरोसँग उद्यम गरेको थियो।
प्रकाशित: २४ आश्विन २०७९, सोमबार