
काठमाडौं ।
भारतमा निर्मित ओला इलेक्ट्रिक स्कुटर नेपाल भित्रिएको छ। नेपालमा ओला इलेक्ट्रिक स्कुटरको बिक्री तथा वितरण चौधरी ग्रुप अन्तर्गको सिजी मोटरले गर्नेछ।
काठमाडौंको भृकृटी मण्डपका बिहीबारदेखि जारी नाडा ईभी एक्स्पो २०२२ मा ओलाका दुई इलेक्ट्रिक स्कुटर एस वान र एस वान प्रो सार्वजनिक गरिएको गरिएको छ।
भारतीय अटो अनलाइन पोर्टल बाइकवालेका अनुसार भारतमा ओला एस वानको मूल्य ९९ हजार ९७९ भारु (१ लाख ५९ हजार ९९६ रुपैयाँ) र एस वान प्रोको मूल्य १ लाख ३९ हजार ९७८ भारु (२ लाख २३ हजार ९६५ रुपैयाँ) तोकिएको छ। भारतमै ग्राहकको ग्राहकको माग अनुसार ओला इलेक्ट्रिक स्कुटर उपलब्ध हुन सकेको छैन। यस्तोमा नेपालमा तत्काल ओलाका उत्पादन बिक्रीका उपलब्ध हुने सम्भावना कम देखिन्छ।
यी दुई स्कुटरबीच मूल्यमा केही अन्तर भए पनि धेरै फिचर भने समान नै छन्।
ओला एस वानमा लिथियम आयन २.९८ किलोवाट आवरको ब्याट्री र एस वान प्रोमा लिथियम आयन ३.९७ किलोवाट आवरको ब्याट्री छ। एस वान फुल चार्ज गर्न ५ घण्टा र एस वान प्रोले साढे ६ घण्टाको समय लिन्छ।
दुवै स्कुटरमा जडान गरिएको ८५०० वाटको मोटरले ५५०० वाट पावर र ५८ एनएम म्याक्स टर्क प्रदान गर्छ।
एस वानको ड्राइभिङ रेञ्ज १२१ किलोमिटर र एस वान प्रोको ड्राइभिङ रेञ्ज १३५ किलोमिटर छ। एस वानको टप स्पिड १२१ किलोमिटर प्रति घण्टा र एस वान प्रोको टप स्पिड १३५ किलोमिटर प्रति घण्टा छ।
दुवै स्कुटरको फ्रन्ट र रियलमा डिक्स्क ब्रेक दिइएको छ। साथै यी स्कुटरमा समान १६५ एनएम ग्राउण्ड क्लियरेन्समा उपलब्ध छ।
भारतमा पछिल्लो समय इलेक्ट्रिक स्कुटरहरुमा अचानक आगलागी हुने समस्याहरु देखिएका छन्। विभिन्न समयमा ओलाका इलेक्ट्रिक स्कुटरहरु पनि आगलागीको चपेटामा परेका छन्। आगलागीका घटनालाई ध्यानमा राखेर ओलाले गत अप्रिलमा १ हजार ४४१ यूनिट ईस्कुटर फिर्ता लिएको थियो।

लिथियम आयन ब्याट्री जडिट इलेक्ट्रिक स्कुटरमा आगलागीको घटना बढेसँगै भारत सरकारले यसको कारण पत्ता लगाउन अध्ययन समिति गठन गरेको थियो। उक्त समितिले तयार पारेको रिपोर्टमा ब्याट्री म्यानेजमेन्ट सिस्टमको खराबीको कारण पड्कने तथा आगलागीको घटना बढेको उल्लेख छ।
ओलाले आफ्नो स्कुटर गत अगस्ट १५ मा सार्वजनिक गरेको थियो। तत्कालिन समयमा ओलाले अगस्ट १५ मा इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने भन्दै ठूलो परिमाणमा बुकिङ लिएको थियो। छोटो समयमै १ लाख युनिटभन्दा धेरैको बुकिङ प्राप्त भएपछि कम्पनीले थप बुकिङ बन्द गरेको थियो।
रिपोर्टका अनुसार तोकिएको समयसीमामा कम्पनीलाई आफ्नो उत्पादन सार्वजनिक गर्न दबाव थियो। कम्पनीका प्राविधिहरुले थप प्राविधिक परीक्षण बिनै इलेक्ट्रिक स्कुटर सार्वजनिक नगर्न ओलाका सीईओ भाविश अग्रवाललाई सुझाव पनि दिएका थिए। तर अग्रवाल तोकिएको समयमा जसरी पनि इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्नुका लागि उनले कर्मचारी माथि दबाव दिएका थिए।
हतार तथा दबावमा ओला स्कुटर उत्पादन गर्नु पर्दा ब्याट्री पड्कने तथा आगलागीको समस्या आएको हुन सक्ने जानकारहरुको बुझाइ छ।
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार