सीसीटिभीको दूरूपयोगमा ६ हजार बढी उजुरी, सबैभन्दा धेरै यौन दूर्व्यवहार र साइबर अपराधको विषय

  • Technology Khabar | १७ भाद्र २०७९, शुक्रबार
सीसीटिभीको दूरूपयोगमा ६ हजार बढी उजुरी, सबैभन्दा धेरै यौन दूर्व्यवहार र साइबर अपराधको विषय
सांकेतिक तस्बिर

काठमाडौं ।

– किरण अधिकारी

चालू आर्थिक वर्षको पहिलो महिनामा अर्थात साउनमा सीसीटिभीको दूरूपयोगको संख्या उल्लेख्य भएको देखिएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सीसीटिभीको दूरुपयोग भएको भन्दै ६ हजार भन्दा धेरै उजुरीहरु परेका छन् ।

सीसीटिभीको फुटेजहरु मोडिफाइ गरी व्यापारिक प्रयोजन तथा यौन दबाब दिन र आर्थिक दूर्व्यवहारका लागि प्रयोग गरिएको भन्दै चालू आर्थिकको पहिलो महिनामा मात्रै ६ हजार ८५२ ओटा उजुरी परेको प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिईन्।

प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ढुंगेलले टेक्नोलोजीखबरसँग भनिन्,“सबै उजुरीहरुको संख्या सीसीटिभी कै फोटो तथा भिडियोहरु मोडिफाइ गरेकोमा मात्र नभएर मोबाइलबाट खिचेर फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा राख्दै दुरूपयोग गरेकोमा परेको हो।”

काठमाडौं जिल्लामा मात्र करिब ७ हजार सीसीटिभीसहित जोडिएको फोटोको दूरुपयोग गरेकोमा आएका उजुरीहरु साइबर क्राइम अन्तर्गत सिधै लान सकिने प्रशासनले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता टेक प्रसाद राईले उजुरीअनुसारको कारबाही हेर्नका लागि विभिन्न विभाग, कार्यालयहरुको स्थान तोकिएको जानकारी दिए।

उनले भने,“महिलाको लागि कालिमाटी प्रहरी विभाग, अपराध महाशाखा नयाँ बानेश्वर, साइबर अपराध शाखा र नक्साल मुख्य कार्यालयले सिधै हेर्ने भएकाले कसैलाई केही परे नआत्तिकन प्रहरीलाई सम्पर्क राख्नुपर्छ।”

गत आर्थिक वर्षमा काठमाडौंकै केही ठूला स्कूल, कलेजमा पुरूष शिक्षकले मोबाइलको प्रयोगमार्फत किशोरीलाई यौन हिंसा गर्न गरेको पाइएको थियो। यस्तै सुदुरपश्चिमको कैलालीमा एक विद्यालयका महिला शिक्षिकाले आफ्नो विषयमा पास गराइदिन्छु भन्दै किशोरको यौनाङ्गको फोटो खिचेको पाइएको समाचारहरु सार्वजनिक भएका थिए।

ब्ल्याकमेलिङ्ग गर्दै फेसबुक, ट्विटर, ग्रुप मेसेन्जरमा राख्ने प्रवृत्तिले घरदेखि समाजमा नकारात्मक असर पर्ने भएकाले सचेतनाको आवश्यकता रहेको अधिवक्ता एवं डिजिटल राइट्स एशोसियसनका अध्यक्ष सन्तोष सिग्देलले जानकारी दिए।

अधिवक्ता सिग्देलले भने,“अपराध कसरी कम गर्ने भन्नेमा घरका अभिभावक नै सचेत हुनुपर्छ, प्रयोग गर्न नजानेमा स्मार्टफोन, ट्याबलेट, नोटबुकको सुरक्षित प्रयोग गर्न सिक्नुपर्ने हुन्छ।”

विद्युतिय कारोबारसँगै सीसीटिभी, फेसबुक, ट्विटर, लगायत सबै सामाजिक सञ्जाल प्रयोगमा नियमहरू हुने भएकाले सचेत हुनुपर्ने र मुख्यत अनुमति सहित अनुगमन गरेको खण्डमा त्यस्ता पिडाबाट मुक्ति पाईने सिग्देलको भनाई छ।

प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार