काठमाडौं ।
नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ। सूचना प्रविधिको विकाससँगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको हो।
एक साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरुले सहभागिता जनाएका थिए। तालिमको समापन अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरुलाई मुलुकको आर्थिक कृयाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताईन्। चेम्बर महिलाले विभिन्न क्षेत्रमा तालिम आयोजना गर्दै आईरहेको भन्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि निरन्तरता दिने बताईन्।
सूचना प्रविधिमा महिला नामक संस्थाकी अध्यक्ष गुण केशरी प्रधानले महिलाहरुको सशक्तीकरणका लागि नेपाल महिला चेम्बरसँग सहकार्य गर्न गरिएको बताईन् ।
महिला उद्यमशीलता विकास गर्न भन्दै चेम्बरले यस अघि फोटोग्राफी, मैनवत्ती बनाउने तथा बेकरी तालीम आयोजना गरिसकेको छ । नेपाल महिला चेम्बरकी महासचिव लीमा अधिकारीले आर्थिक रुपमा सम्पन्न नभएसम्म महिलाहरुको अधिकार सुनिश्चित नहुने बताईन्।
प्रकाशित: ५ भाद्र २०७९, आईतवार