
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी अडिट र क्लाउड अडिटका लागि अडिटहरुको सूची तयार गर्ने भएको छ।
प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै साइबर सेक्यूरिटी अडिटरहरुलाई रोस्टर दर्ताका लागि आह्वान गरेको हो।
सार्वजनिक सूचनाअनुसार प्राधिकरणको सो रोस्टरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै कम्पनीले आवश्यक योग्यता पुरा गरेर सहभागीता जनाउन सक्नेछन्।
सूचनाअनुसार अडिटर फर्म सम्बन्धित देशमा दर्ता भएको हुनुपर्ने र नेपाली कम्पनी भए भ्याटमा दर्ता भएको तथा कर चुक्ता गरेको प्रमाणपत्र बुझाउनुपर्नेछ।
नेपाली अडिट कम्पनीको वार्षिक औसत ३० लाख रुपैयाँको कारोबार भएको हुनुपर्ने छ भने अन्तर्राष्ट्रिय कम्पनीको हकमा ३ आर्थिक वर्षमा औसत ५० लाख डलरको कारोबार गरेको हुनुपर्छ।
यसका साथै कम्पनी ३ वर्षदेखि संचालन भएको हुनुपर्नेछ भने साइबर सेक्युरिटी, इन्फरमेसन सेक्युरिटी, सेक्युरिटी अडिटमा कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्नेछ।
रोस्टरमा सहभागी हुन चाहने कम्पनीहरुले तीन वर्षको अवधिमा कम्तिमा ३ ओटा यस्ता योजना सम्पन्न गरेको हुनुपर्ने छ। त्यस्तो योजनाको प्रमाण समेत पेश गर्नुपर्नेछ।
आईएस अडिटरमा सहभागी हुन चाहने कम्पनीसँग कम्तिमा ३ जना पूर्णकालिन विज्ञ वा प्रोफेसनल हुनुपर्ने छ । त्यस्ता विज्ञहरुसँग सीआईएसए, सीआईएसएसपी, सीआईएसएम, आईएसओ २०७००१ लगायतमध्ये कम्तिमा कुनै एक प्रमाणपत्र हुनुपर्नेछ । विज्ञ वा प्रोफेसनलको प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ।
complete-noticeप्रकाशित: १ भाद्र २०७९, बुधबार