नेपाल टेलिकमको आम्दानी र नाफा दुबै बढ्यो

  • Technology Khabar | ३० श्रावण २०७९, सोमबार
नेपाल टेलिकमको आम्दानी र नाफा दुबै बढ्यो

काठमाडौं ।

नेपाल टेलिकमले गत अन्तिम त्रैमासमा २ अर्ब ९४ करोड ४७ लाख नाफा आर्जन गरेको छ। यसैगरी कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

टेलिकमले अघिल्लो त्रैमासमा १ अर्ब २४ करोड ४९ लाख नाफा गरेको थियो भने वार्षिक दरमा अघिल्लो आवको असारमा नाफा ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ थियो। वार्षिक दरमा हेर्दा टेलिकमको नाफा १८ प्रतिशत बढेको छ।

गत आवको वार्षिक दरमा कुल सेवा वापतको आम्दानी ३७ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ छ भने चौथो त्रैमासको अवधिमा ९ अर्ब ६७ लाख रुपैयाँ कमाएको छ। कम्पनीले वार्षिक दरमा आफ्नो मुख्य व्यवसाय बाहेक अन्य स्रोतबाट ६ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको देखिएको छ।

यसअघि अघिल्लो वर्ष वार्षिक आम्दानी ३५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ थियो भने त्रैमासमा यस्तो आम्दानी ८ अर्ब ४८ करोड रहेको देखिन्छ।

कम्पनीले आम्दानी बढाएसँगै खर्चहरु समेत बढेको छ। बिक्री तथा बजारीकरण, प्रशासनिक खर्च तथा नियामकलाई तिर्नुपर्ने भुक्तानीलगायतका खर्चहरुमा वृद्धि भएको छ।

खुद नाफा बढ्दा कम्पनीको प्रति सेयर आम्दानी पनि करिब ६ रुपैयाँ बढेको छ। गत आर्थिक वर्ष कम्पनीले प्रस्ताव गरेको बोनस सेयरका बाबजुद कम्पनीको प्रतिसेयर आम्दानी बढेको हो। कम्पनीको पछिल्लो प्रति सेयर आम्दानी बढेर ४६.५६ रुपैयाँ कायम भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीसँग चालु र गैर चालु गरेर कुल ६५ अर्ब बराबरको सम्पत्ति रहेको छ।

प्रकाशित: ३० श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...