
काठमाडौं ।
वैदेशिक रोजगार बोर्डमा अनलाइनमार्फत नै आवेदन दिन सकिने भएपछि आर्थिक सहायता लिनेको सङ्ख्या वृद्धि भएको छ।
बोर्डकाअनुसार गएको आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका १४ सय ७९ श्रमिकका परिवारलाई अनलाइन प्रणालीबाट आर्थिक सहायता प्रदान गरिएको छ।
अघिल्ला वर्षहरूमा आर्थिक सहायता लिन काठमाण्डौमा रहेको वैदेशिक रोजगार बोर्डमै धाउन पर्ने नियम हुँदा एक हजारदेखि १२ सयको हाराहारीमा आवेदन आउने गरेमा गएको आर्थिक वर्षमा यो सङ्ख्या बढेर १४ सय ७९ पुगेको छ। आर्थिक वर्ष २०७७र७८ मा १२ सय ४३ जना मृतक श्रमिकका परिवारले बोर्डबाट आर्थिक सहायता लिएका छन्।
अहिले बोर्डमा आर्थिक सहायताका लागि आवेदन दिन पहिलेको तुलनामा निकै सजिलो छ। वैदेशिक रोजगार नियमावलीको पाँचौँ संशोधनले आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।
आवश्यक कागजात र प्रक्रिया पुर्याएर बोर्डबाट पाइने आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै आवेदन दिन सकिन्छ। पालिकाले बोर्डमा आवेदन पाउनेछ । पालिकाले पठाएको आवेदनको जाँचबुझ गरी बोर्डले सम्बन्धी हकवालाको बैङ्क खातामा नै आर्थिक सहायता रकम पठाउँछ।
सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत विभिन्न जिल्लाहरूमा रहेका आप्रवासी स्रोत केन्द्रले पनि यस्तो आवेदनको आवश्यक प्रक्रिया गर्न सहयोग र समन्वय गर्छन् ।
बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको श्रम अवधि भित्रै वा अवधि सकिएको एक वर्षभित्र मृत्यु भएमा नजिकको हकवालालाई ७ लाख रुपैयाँ र श्रमिक अङ्गभङ्ग वा गम्भीर बिरामी भएर फर्किएमा विशेषज्ञ टोलीको सिफारिसमा बढीमा ७ लाख रुपैयाँसम्म आर्थिक सहायता दिन्छ।
प्रकाशित: १७ श्रावण २०७९, मंगलवार