
काठमाडौं ।
हुम्ला जिल्लाको नाँम्खा र सिमकोट गाउँपालिकाका तीसओटा आधारभुत विद्यालयमा फोरजी ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान हुने भएको छ। नेपाल टेलिकमको ग्रामीण दूरसञ्चार कार्यक्रम अन्तर्गत उक्त इन्टरनेट सेवा जडानका लागि सामग्री विद्यालयलाई हस्तान्तरण गरिएका हो।
नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले गाउँपालिकाको १७ ओटा आधारभूत विद्यालयलाई फोरजी ब्रोडब्याण्ड इन्टरनेट सेवाका लागि मेशीनहरु बितरण गरिएको बताए। यसबाट ती विद्यालयमा इन्टरनेटको पहुँच पुग्नेछ। विद्यालयमा इन्टरनेट प्रविधिको पहुँच बढाउन नेपाल टेलिकमले सो सामग्री उपलब्ध गराएको र गाउँपालिकाले विद्यालयलाई सामग्री हस्तान्तरण गरेको बताए।
विद्युतको व्यबस्था भएका विद्यालयमा तत्काल र नभएका विद्यालयमा गाउँपालिकाले सोलारको व्यबस्था गरेर सो सेवा जडान गर्ने बताइएको छ । त्यसैगरी टेलिकमको सोही कार्यक्रम अन्तर्गत सिमकोट गाउँपालिकाका १३ वटा विद्यालयलाई पनि मेशिनसहित सामग्री बितरण गरिएको छ ।
गाउँपालिकाले एक–दुई दिनमा प्राबिधिक खटाएर इन्टरनेट सेवा जडान गर्ने भएको छ।
सिमकोटका अधिकांश विद्यालय विद्युतको पहुँचमा रहेका छन् । सिमकोट गाउँपालिका –२ को पन्चमुखी आधारभूत विद्यालयका शिक्षक लक्ष्मण बोहराले हाल इन्टरनेटको पहुँचविनै पठनपाठन भइरहेको बेला सो सेवा जडानपछि विद्यालयलाई अतिरिक्त क्रियाकलाप खोजेर पठनपाठनमा सहयोग पुग्ने बताए। जिल्लाका अन्य पाँचओटा गाउँपालिकाका सबै आधारभूत विद्यालयमा सो कार्यक्रम परेको छ । गोरखापत्रबाट
प्रकाशित: २९ असार २०७९, बुधबार