
काठमाडौं ।
यो वर्ष सार्वजनिक हुने तयारीमा रहेको आईफोन १४ को मूल्य आकाशिने संकेत देखिएको छ।
ब्लूमबर्गमा आएको एक रिपोर्ट अनुसार एप्पलको एउटा मुख्य आपूर्तिकर्ता टीएसएमसीले आईफोनको मूल्यमा उल्लेख्य वृद्धि हुने चेतावनी दिएको हो।
टीएसएमसीले यसअघि नै थुप्रै कच्चा पदार्थहरुको मूल्यवृद्धि गरिसकेको बताएको छ।
यसबाहेक जापानी रसायन आपूर्तिकर्ता शोवा डेन्को के के ले पनि आफूहरुले पनि ५५० अर्ब डलरको सेमिकन्डक्टर उद्योगमा विभिन्न आर्थिक चुनौती भोग्दै आउनुपरेकाले मूल्य वृद्धि गर्ने बाध्यता आएको बताएको छ।
ब्लूमबर्गको रिपोर्टमा यसअघि नै यो क्षेत्रमा एक दर्जनभन्दा बढी कुराहरुमा मूल्यवृद्धि भइसकेको पनि उल्लेख छ।
यसको मुख्य कारक कोरोना भाइरसका कारण आपूर्ति श्रृङ्खलामा आएको गडबडीलाई मानिएको छ।
यसबाहेक रुस-यूक्रेन युद्ध तथा जापानी येनको मूल्य घट्नु पनि यसको कारक रहेका गिज्मोचाइनाले उल्लेख गरेको छ।
कम्पनीका सीएफओले एक अन्तर्वार्ताका क्रममा आपूर्तिकर्ताले यो समस्यामा आउँदो वर्षसम्म पनि सुधार नआउने चेतावनी दिएको दिएका छन्।
प्रकाशित: २२ असार २०७९, बुधबार