
काठमाडौं ।
एफसीसीका कमिश्नर ब्रेन्डन कारले एप्पल र गुगललाई मंगलबार एउटा पत्र काटेका छन्।
पत्रमा उनले ती कम्पनीहरुलाई टिकटकको डाटा व्यवहारका कारण आफ्ना एप स्टोरबाट उक्त एप हटाउन आग्रह गरेका छन्।
यो पत्र बजफीड न्यूजले गत हप्ता चीनका टिकटकका कर्मचारीसँग अमेरिकी यूजरका जनवरीसम्मको डाटा पहुँचमा रहेको रिपोर्ट निकालेपछि काटिएको याहू डटकमले उल्लेख गरेको छ।
‘टिकटक तपाईँहरुको एपस्टोरमार्फत् अमेरिकाका लाखौंले प्रयोग गर्ने यहाँहरुलाई थाहै छ। यसबाट अमेरिकी नागरिकका अथाह डाटा यसले संकलन गर्छ। टिकटक बेइजिङको बाइटडान्स कम्पनी अन्तर्गत छ भने बाइटडान्स चीनको कम्युनिस्ट पार्टीद्वारा चीनको कानून अनुसारको निगरानीका लागि चलाइन्छ’, कारले सुन्दर पिचाई र टिम कूकलाई सम्बोधन गरिएको पत्रमा उल्लेख गरेका छन्।
उनले टिकटकले संवेदनशील डाटा संकलन गर्ने र त्यसमा बेइजिङको पनि पहुँच रहने भएकाले स्विकार गर्नै नसकिने स्तरको राष्ट्रिय सुरक्षा जोखिम निम्त्याउने हुँदा आफ्ना एप स्टोरबाट उक्त एप हटाउन आग्रह गरेका हुन्।
प्रकाशित: १७ असार २०७९, शुक्रबार