टाटाको नेक्सन ईभी चलाउनु हुन्छ? सतर्क हुनुस्, भारतमा यसरी लाग्यो आगो

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
टाटाको नेक्सन ईभी चलाउनु हुन्छ? सतर्क हुनुस्, भारतमा यसरी लाग्यो आगो

काठमाडौं ।

विद्युतीय स्कुटरपछि अब विद्युतीय कारमा आगलागीको घटना सार्वजनिक भएको छ। सो घटना बुधबार साँझ भारतको मुम्बईको वसई रोडमा भएको हो। जहाँ टाटाको नेक्सन ईभीमा अचानक आगो लाग्दा कार जलेर नष्ट भएको छ।

नेपालमा पनि अधिक बिक्री हुने ईलेक्ट्रिक भेहिकल मध्ये रहेको टाटाको नेक्सन ईभी छिमेकी देशमा बाटोमा नै आगलागी भएको हो।

भारतमा टाटाको इलेक्ट्रिक कारमा आगलागी भएको यो पहिलो घटना हो । टाटा र सरकार दुवैले यस विषयमा अनुसन्धान गरिरहेको भास्कर डटकमले जनाएको छ।

रिपोर्टका अनुसार कार मालिकले कार्यालयमा चार्जिङ गरेका थिए। जब उनी यसलाई लिएर बाहिर निस्किए, अनौठो आवाज आउन थाल्यो र इन्स्ट्रुमेन्ट क्लस्टरमा अलर्ट आउन थाल्यो। यो देखेर उनले आफ्नो गाडी साइडमा पार्क गरे। तर केही समयपछि आगो लाग्यो।

टाटा मोटर्स अनुसन्धानमा

यस विषयमा टाटाले भनेको छ, ‘हामी यो घटनाको अनुसन्धान गरिरहेका छौँ र जे सुचना आउँछ, त्यो सबैसँग बाँडिनेछ। हामी हाम्रा सवारी साधन र तिनका प्रयोगकर्ताहरूको सुरक्षाका लागि प्रतिबद्ध छौं। करिब ४ वर्षमा ३० हजारभन्दा बढी ईभीले देशभर १० करोड किलोमिटरभन्दा बढीको दुरी पार गरेको यो पहिलो घटना हो ।

सरकारले स्वतन्त्र छानबिन गर्ने

सडक यातायात र राजमार्ग मन्त्रालयका एक वरिष्ठ अधिकारीले बिहीबार सरकारले मुम्बईमा नेक्सन इलेक्ट्रिक गाडीमा भएको आगलागीको घटनाको स्वतन्त्र छानबिन गर्न आदेश दिएको छ। सेन्टर फर फायर एक्सप्लोसिभ एण्ड इन्भायरमेन्ट सेफ्टी (सीएफईईएस), इन्डियन इन्स्टिच्युट अफ साइन्स र नेभल साइन्स एन्ड टेक्नोलोजिकल ल्याबोरेटरी,लाई घटनाको कारण पत्ता लगाउन र रोकथामका उपायहरूसहित सुझाव दिन भनिएको छ।

ईभीमा आगलागीका घटनाहरू भइरहने

ओला इलेक्ट्रिकका सीईओ भाविश अग्रवालले एक ट्वीटमार्फत विद्युतीय सवारीमा आगलागीका घटनाहरू भईरहने बताएका छन् । उनले ट्वीटमा भने, “विद्युतीय सवारीमा आगलागीका घटनाहरू सार्वजनिक हुनेछन्। अन्तर्राष्ट्रिय कम्पनीहरूले बनाएका सवारीसाधनमा पनि यस्तो हुन्छ । तर, डिजेल–पेट्रोलका सवारीसाधनको तुलनामा विद्युतीय सवारी साधनमा आगलागीका घटना निकै कम छन् ।”

यसअघि ओलाको इलेक्ट्रिक स्कुटरमा पनि आगलागी हुने घटना भएको थियो ।

टाटाको नेक्सन ईभीले लिथियम-आयन ब्याट्री द्वारा संचालित छ। नेक्सन इलेक्ट्रिक कार ३०.२ किलोवाट आवर लिथियम-आयन ब्याट्री द्वारा संचालित छ। फुल चार्जमा यो कारले ३१२ किलोमिटरको रेन्ज दिन्छ। कारलाई डिसी फास्ट चार्जर प्रयोग गरेर मात्र ६० मिनेटमा चार्ज गर्न सकिन्छ। नियमित चार्जरबाट ८ घण्टामा चार्ज गर्न सकिन्छ।

नेपाली बजारमा पनि टाटाको नेक्सन ईभी उपलब्ध  रहेको छ। नेपालमा टाटाको यो ईभीलाई सिप्रदी ट्रेडिङ्गले बिक्री गर्दै आएको छ। सतर्क हुनुहोस्, कतै तपाईँको टाटाको नेक्सन ईभी पनि जोखिममा त छैन् ?

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...