भारतका गणित शिक्षकले बनाए सोलार कार

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
भारतका गणित शिक्षकले बनाए सोलार कार

काठमाडौं ।

भारतको श्रीनगरस्थित सनत नगरमा बस्ने बिलाल अहमदले सौर्य ऊर्जाबाट चल्ने कार बनाएका छन्। बिलालले आफ्नो ड्रिम कार ११ वर्षमा तयार गरेको दैनिक भास्करले उल्लेख गरेको छ।

बिलाल भन्छन्, ‘मैले प्रोजेक्ट शुरु गर्दा र यसलाई पूरा गरेपछि कसैबाट पनि वित्तीय सहायता प्राप्त गरेको छैन। यदि मलाई सहयोग मिल्थ्यो भने म भारतको इलन मस्क हुन्थें।’

कार तयार गर्न १५ लाख भारु लगानी भएको उनले बताए।

ब्याक टू फ्यूचरको कार ‘डेलोरियन’ बाट प्रभावित

बिलाल अहमद गणित शिक्षक हुन्। उनमा कार प्रति उच्च लगाव थियो। उनलाई कारको बारेमा अध्ययन गर्न र म्यानुफ्याक्चर्स मेसिन कसरी तयार हुन्छ भन्ने विषयमा रुची थियो।

उनलाई ब्याक टू फ्यूचरमा प्रयोग गरिएको ‘डेलोरियन’ कारबाट सबैभन्दा धेरै प्रभावित गरेको थियो। उनी त्यसलाई आफ्नो ड्रिम कार मान्छन्। आफ्नो सपना साकार गर्न उनले मारुती ८०० लाई मोडिफाइ गरेका हुन्।

पेट्रोल-डिजेलको बढ्दो मूल्यलाई ध्यानमा राखेर बिलालले सौर्य ऊर्जाबाट चल्ने कार बनाउने निर्णयमा पुगेका हुन्।

यसका लागि उनले चेन्नईको एउटा उद्योगबाट सोलार प्यानल आयात गरे। उनले कम प्रकाशमा धेरै शक्ति उत्पन्न गर्ने सोलार प्यानल रोजे। यसका लागि उनले मोनोक्रिस्टलाइन सोलार प्यानलको प्रयोग गरे जुन उच्चतम शक्ति प्रदान गर्न सक्षम छ।

कारको ढोकामा सोलार प्यानल

कारको फ्रन्ट र ब्याक डोरमा सोलार प्यानल जडान गरिएको छ। यो ढोका माथि खुल्छ जसले कारलाई स्टाइलिस बनाउँछ।

बिलालले भने, ‘मर्सिडिज, फरारी, बीएमडब्ल्यू लगायत कार चढ्नु भनेको आम मानिसका लागि सपना हो। केही मानिस यी कार चलाउन पाउँछन् भने धेरैका लागि यो असम्भव छ। त्यस्ता मानिसका लागि म लक्जरियस फील गराउन चाहन्छु।’

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...