Technology Khabar १९ माघ २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, १९ माघ । नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड भित्रिएको छ । जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले बजारमा ओट्टो (OTTO) ब्राण्डको फोन आज एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ । कम्पनीले नेपाली ब्राण्डकोरुपमा बजारमा भित्र्याएको यो ब्राण्डको पहिलो स्मार्टफोन ओट्टो मार्क मोडल सार्वजनिक गरेको हो ।
नयाँ ब्राण्ड नेपाली चलचित्र लूट २ फिल्मको समूहले एक कार्यक्रमकाबिच ताम्राकार कम्प्लेक्समा सार्वजनिक गरेको थियो । यो ब्राण्डले शुरुमा मिड रेन्जको स्मार्टफोनको रुपमा ओटो मार्क ल्याएको हो । यसको साथमा कम्पनीले ओटो रियो नामक फिचर फोन पनि सार्वजनिक गरेको छ ।
ब्राण्ड सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका मार्केटिंग एण्ड सेल्स हेड सचिन उदासले यो फोनले नेपाली ग्राहकहरुको चाहना पुरा गर्ने दाबी गरे । उनले भने, ‘यसमा सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा, फोरजी सपोर्टलगायत आवश्यक सबै फिचरहरु रहेको छ ।’
ओटो मार्क (OTTO Mark)
कम्पनीकाअनुसार ओटो मार्क सिंगापुरमा डिजाइन तथा चीनमा उत्पादन गरिएकाे हाे ।
ओटो मार्क स्मार्टफोनमा ६ इन्चको २.५ डि कर्ब्ड एचडि आईपिएस डिस्प्ले राखिएको छ भने यसमा ३ जीबीको र्यामका साथमा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ । स्टोरेजलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।
ओटो मार्कमा मिडियाटेक प्रोसेसर प्रयाेग गरिएकाे छ भने यसमा फोटोका लागि ड्यूल टोन एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । फोटोका लागि फेस रिकोग्निसन मोड, अपार्चर मोडलगायतका फिचर छन भने मुख्य क्यामराले एचडी रेकर्ड गर्न सक्ने बताईएको छ ।
एन्ड्रेयड मार्शमाल्लो ६.० भर्सनमा आधारित यो स्मार्टफोनमा ३,८४५ एमएएच क्षमताको नन रिमुभेवल अर्थात झिक्न नमिल्ने ब्याट्री प्याक राखिएको छ । यसमा फास्ट चार्जिगको प्रविधि रहेको छ ।
ड्यूल सिम ड्यूल स्ट्याण्डबाई रहेको फोनमा ०.३ सेकेण्डमा अनलक हुने फिंगरप्रिन्ट सेन्सर राखिएको कम्पनीले जानकारी दिएको छ ।
पछिल्लो दिनमा फोरजी फोनहरुको चर्चासँगै यसमा पनि फोरजी एलटिई, थ्रीजी नेटवर्क सपोर्ट गर्दछ ।
कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ ४.० भर्सन, यूएसबी २.० भर्सन, जीपीएस राखिएको छ । अल्मुनियम एलोएका साथमा मेटल यूनिबडि डिजाइनमा आएको ओटो मार्क स्मार्टफोनको मोटाई ८.६ मिलिमीटर रहेको छ ।
हाल बजारमा स्पेस ग्रे तथा स्याम्पेन गोल्ड कलरमा मात्र किन्न सकिने स्मार्टफोनको खरिदमा कम्पनीले ब्याक कभर तथा टेम्पर ग्लास निशुल्क दिने जानकारी दिएको छ ।
बजारमा यसको मूल्य रू.१९,९९६/- रहेको कम्पनीले जनायो ।
ओटो रियो (OTTO Rio)
यसका साथै आजै सार्वजनिक गरिएको फिचर फोन ओटो रियोमा २.३ इन्चको स्क्रीन छ भने यसमा १,५०० एमएएचको ब्याट्री राखिएको छ ।
ड्यूल एलईडी फ्ल्याश भएको फिचर फोनमा ड्यूल सिम प्रयोग गर्न सकिन्छ । मिडियाटेकको चिपसेट प्रयोग गरिएको फोनमा ३२ एमबीको र्याम तथा ३२ एमबीकै स्टोरज छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिने कम्पनीको भनाई छ ।
एमपी थ्री, एमपी फोर सपोर्ट गर्ने तथा वायरलेस एफएम राखिएको ओटो रियो फिचर फोन बजारमा तीन रंगहरुमा उपलब्ध छ भने यसको मूल्य कति हो भनेर खुलाईएको छैन् ।
कम्पनीले संभवत अर्को साता अन्तर्राष्ट्रिय ब्राण्ड कूलप्याड पनि सार्वजनिक गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।
कम्पनीको नयाँ ब्राण्ड ओटोको मार्क मोडलको स्मार्टफोनको बारेमा हामी तपाईँलाई विस्तृतमा रिभ्यू गरेर जानकारी दिनेछौं ।
प्रकाशित: १९ माघ २०७३, बुधबार