
काठमाडौं ।
छिमेकी देश भारतले गाउँहरुमा फोरजी नेटवर्कमा सुधार गर्ने योजना लिएको छ। यसको लागि भारतीय केन्द्र सरकारले गाउँहरूमा राम्रो फोरजी कनेक्सनको लागि टेलिकम कम्पनीहरू एयरटेल र रिलायन्स जियोलाई ३,६८३ करोड भारतीय रुपैयाँ छुट्याएको छ। दुवै अग्रणी निजी टेलिकमलाई गाउँमा फोरजी पूर्वाधार विकास गर्न यो कोष दिइएको हो।
यसैबीच सरकारी स्वामित्वको भारतीय दूरसञ्चार कम्पनी बीएसएनएलले पनि वर्षको अन्त्यसम्ममा ५० हजार मोबाइल टावर जडान गर्ने भएको छ।बीएसएनएलका अध्यक्ष प्रवीण कुमार पुरवारले यो जानकारी दिएका छन् ।
समाचार रिपोर्टकाअनुसार भारती एयरटेलले झारखण्डमा १,०८३ मोबाइल टावरहरू स्थापना गर्न सरकारबाट प्राप्त रकम प्रयोग गर्नेछ। यसका लागि कम्पनीलाई ८४७.९५ करोड भारु विनियोजन गरिनेछ। साथै, रिलायन्स जियोले गाउँहरूमा कुल ३,६९६ टावरहरू पनि राख्नेछ। यसका लागि रु २,८३६ करोड भारुको कोष दिइनेछ।
१८ महिनामा आयोजना सम्पन्न गर्ने
भारतीय दूरसञ्चार कम्पनीहरूलाई गएको मे महिनामा गाउँगाउँमा टावर जडान गर्ने आयोजना दिइएको छ। स्रोतलाई उदृत गर्दै आएको समाचारका अनुसार टेलिकम कम्पनीहरूले ५ राज्यका ती गाउँहरूमा फोरजी कभरेज उपलब्ध गराउनेछन्, जसलाई गत वर्ष केन्द्रीय मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो। एयरटेल र जियोलाई सरकारले यी गाउँहरूमा ४जी सेवा रोल आउट गर्न १८ महिनाको समय दिएको छ।
एयरटेल र जियोलाई देशका ४४ जिल्लाका ७,२८७ गाउँमा फोरजी मोबाइल सेवा जडान गर्ने परियोजना दिइएको छ। मन्त्रिपरिषद्ले यसका लागि आन्ध्र प्रदेश, छत्तीसगढ, महाराष्ट्र, झारखण्ड र ओरिसालाई छनोट गरेको छ। यी पाँच राज्यका ग्रामीण इलाकामा फोरजी मोबाइल टावरहरू जडान गर्न ६ हजार ४६६ करोड भारतीय रुपैयाँ खर्च हुने सरकारी अनुमान छ। युनिभर्सल सर्भिस अब्लिगेसन फण्ड (युएसओएफ) को सहयोगमा आयोजना निर्माण भइरहेको छ। यो अर्को वर्ष नोभेम्बर २०२३ सम्म पूरा हुने बताईएको छ।
बीएसएनएलले ५० हजार फोरजी टावर स्थापना गर्ने
अर्कोतर्फ, भारतको सार्वजनिक दूरसंचार कम्पनी बीएसएनएलले आफ्नो फोरजी सेवा पूर्ण रूपमा सुरु गर्ने तयारी गरेको छ। कम्पनीका अध्यक्ष प्रवीण कुमार पुरवारले ईटी टेलिकमसँग कुरा गर्दै यस वर्षको अन्त्यसम्ममा देशका ५०,००० साइटहरूमा बीएसएनएलको फोरजी मोबाइल टावरहरू जडान गरिने बताए। कम्पनीले अगस्टमा व्यापक मात्रामा फोरजी सेवा सुरु गर्ने बताईएको छ।
प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार