विद्युतीय राहदानी सेवा सुरु

  • Technology Khabar | २० जेष्ठ २०७९, शुक्रबार
विद्युतीय राहदानी सेवा सुरु

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरेको छ । जिल्लाबाट ई–पासपोर्ट वितरण सुरु भएपछि समयको बचतका साथै राहदानी बनाउन काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हिमन्ती साउदका अनुसार एमआरपी राहदानी विस्थापित भएपछि विद्युतीय राहदानी वितरण सुरु गरिएको हो ।

जेठ १४ गतेदेखि परीक्षणका रूपमा ई–पासपोर्ट वितरण गरिएको थियो । सेवाग्राहीले अनलाइनमार्फत फारम भरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गरेपश्चात् १५–२० दिनमा जिल्ला प्रशासन कार्यालयमार्फत विद्युतीय राहदानी पाउन सक्नेछन् । विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि घरबाटै पनि फाराम भर्न सकिने छ ।

राहदानी बनाउन तीन महिना लाग्ने गरेकामा अब १५–२० दिनमै जिल्लामा राहदानी आइपुग्ने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।प्रजिअ उपाध्यायका अनुसार ३४ पृष्ठको राहदानीका लागि पाँच हजार र ६६ पृष्ठको राहदानीलाई दस हजार राजस्व लाग्छ ।

विद्युतीय राहदानीका लागि अनलाइन निवेदन दिँदा राष्ट्रिय परिचयपत्र वा सोको नम्बर आवश्यक पर्छ । जसका लागि जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र नम्बर लिई राहदानी विभागको वेबसाइटमा गई आवेदन दिन सकिने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट बुधबारसम्म २२ जनाले राहदानी सेवा लिएका छन् । जिल्लामै विद्युतीय राहदानी सेवा सुरु भएपछि छोटो समयमै सस्तो र सहज सेवा पाइन थालेको सेवाग्राही रमेश भट्टले बताए। गोरखापत्रबाट

प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...