
काठमाडौं ।
गण्डकी प्रदेश भित्रका सेवाग्राहीहरुले ट्रायल पास गरेर राजश्व तिरेको १० मिनेट भित्र नै क्युआर कोडसहितको अस्थायी सवारी चालक अनुमति पत्र पाउने गरेका छन्।
प्रदेशले स्मार्ट लाइसेन्स दिने कार्यलाई सहजीकरण गरेसँगै तत्काल अस्थायी सवारी चालक अनुमति पत्र उपलब्ध गराईने गरेको बताईएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार गण्डकी प्रदेश सभाको बैठकमा बोल्दै प्रदेश सरकारले सेवाग्राहीलाई ट्रायल पास गरेर राजश्व तिरेको १० मिनेट भित्र अस्थायी सवारी चालक अनुमति पत्र दिने गरिएको बताएका हुन्।
“ट्रायल पास गरेर राजश्व तिरेको १० मिनेट भित्र नै क्युआर कोडसहितको सम्पूर्ण विवरण खुल्ने अस्थायी सवारी चालक अनुमति पत्र सेवाग्राहीलाई उपलब्ध गराउने कार्यको थालनी गरिएको छ,” उनले भने।
उनले गण्डकी प्रदेश सभाको १० औं अधिवेशनका अवसरमा पोखरामा सातै प्रदेशका यातायात मन्त्रीहरुको बैठक बसेर मुलुकभर यातायात क्षेत्रमा एकरुपता ल्याउने निर्णय कार्यान्वयनमा गइसकेको समेत उल्लेख गरे।
यसका साथै सवारी लाइसेन्स कार्यालयमा हुने भिडभाड नियन्त्रण तथा व्यवस्थापनका लागि कार्यालयमा टोकन प्रणाली सुरु गरिएको र यसबाट सेवाग्राहीले घन्टांै लाइन बस्नुपर्ने अवस्था अन्त्य भएको उल्लेख बताए ।
२०८१ सालसम्म सम्पर्क मिति भएका सवारी चालक अनुमति पत्रको बाँकी आवेदनहरुको २०७९ असार ५ गतेसम्म सवारी चालक अनुमति पत्र प्राप्ति प्रक्रिया सकिने गरी यातायात व्यवस्था कार्यालयहरुबाट काम भइरहेको समेत मुख्यमन्त्री पोरखेलले प्रदेश सभामा जानकारी दिए।
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार