
काठमाडौं ।
फ्रेन्च फुटबल स्टार केलियन एमबाप्पेले रियल म्याड्रिडलाई अस्वीकार गरेर पेरिस सेन्ट जर्मेनमा बस्ने निर्णय गरेसँगै ७ लाख इन्स्टाग्राम फलोअर्स गुमाएका छन्।
पीएसजीसँगको सम्झौता समाप्त भएपछि २३ वर्षीय खेलाडी निःशुल्क एजेन्टको रुपमा रियल म्याड्रिड जाने चर्चा थियो।
लिग १ च्याम्पियन पीएसजीले एमबाप्पेलाई आकर्षक धनराषीको प्रस्ताव गरेसँगै उनले ३ वर्षको लागि क्लबमा रहनेगरी सम्झौतामा हस्ताक्षर गरेका छन्। उनको उक्त निर्णय फ्रान्सको राजधानीमा राम्रो प्रभाव देखियो भने म्याड्रिडका समर्थक भने दुखी भएका छन्।
एल चिरिन्गुइटोले एमबाप्पेले पीएसजीसँगको सम्झौता नवीकरण गर्ने घोषणा गरेसँगै शनिबार उनको इन्स्टाग्राम फलोअर ७१.६ मिलियनबाट ७०.९ मिलियनमा झरेको दावी गरेका छन्।
इन्स्टाग्राममा सर्वाधिक फलोअर भएका फुलबल खेलाडीमध्येमा एमबाप्पे चौथो स्थानमा छन्। उनीभन्दा अघि पीएसजीका सहकर्मी नेमार, मेस्सी र म्यान्चेस्टर युनाइटेडका स्टार रोनाल्डो रहेका छन्।
रियल म्याड्रिडका समर्थकहरुले विश्व विजेता खेलाडीलाई ब्लक गरेको स्क्रीनशट ट्विटरमा पोस्ट गरेको स्पोर्टबाइबलले लेखेको छ।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार