
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो ३ महिनामा ३ अर्ब ५४ करोड रुपैयाँ राजस्व उठाएको छ। मन्त्रालयले सो अवधिमा रोयल्टी तथा अन्य सेवा प्रदाय गरेर सो रकम उठाएको जनाएको छ।
मन्त्रालयकाअनुसार त्यसमध्ये सबैभन्दा धेरै रकम इन्टरनेट सेवा प्रदायकहरुबाट उठाएको छ। तथ्यांकअनुसार मन्त्रालयले माघदेखि चैत महिनासम्ममा ३ अर्ब ५४ करोड ५० लाख २३ हजार रुपैयाँ राजस्व आर्जन गरेको छ।
जसमध्ये ३ अर्ब ४६ करोड ४६ लाख ४६ हजार रुपैयाँ २०७७/७८ को लागि इन्टरनेट सेवा प्रदायकहरुबाट उठाईने रोयल्टी रहेको छ। बाँकी राजस्व भने अन्य सेवाहरुमार्फत असुल गरेको हो।
इन्टरनेट सेवाप्रदायकहरुले सेवा प्रदान गरेसँगै सरकारलाई आफ्नो वार्षिक आम्दानीको ४ प्रतिशत रकम रोयल्टीको रुपमा तिर्नुपर्दछ र समयमा नतिरेमा थप २ प्रतिशत थप दस्तुर प्रत्येक महिना लाग्ने दूरसञ्चार नियमावलीमा उल्लेख छ। सोहीअनुसार सेवा प्रदायकहरुले आर्थिक वर्ष सकिएपछि सो रकम मन्त्रालयका खातामा जम्मा गर्ने गर्दछन्।
यसका साथमा मन्त्रालयले फागुन मसान्तसम्म कुल ६ अर्ब ८४ करोड २५ लाख रुपैयाँ राजस्व असुल गरेको छ।
राजस्व आर्जनमा सफल भएको सञ्चार मन्त्रालय बेरुजु फर्छ्यौटमा भने कमजोर देखिएको छ।
मन्त्रालयले सो अबधिमा बेरुजु फर्छ्यौटको काम भने ४ प्रतिशत मात्र गर्न सकेको देखिन्छ। मन्त्रालयकाअनुसार सो तीन महिनाको अवधिमा १६ करोड ३९ लाख ८२ हजार रुपैयाँ बेरुजु फर्छ्यौट गरेको छ भने ३ करोड ९५ लाख २९ हजार रुपैयाँ बेरुजु असूल उपर गरेको छ।
मन्त्रालयले महालेखा परिक्षकको ५७औं प्रतिवेदनको छलफल सार्वजनिक लेखा समितिमा भएको तर हालसम्म प्रतिवेदन नआएको जनाएको छ।
प्रकाशित: १४ बैशाख २०७९, बुधबार