
काठमाडौं ।
अब बेलायतमा स्वचालित कार चलाउनेले त्यहाँ रहेका स्क्रीनमा टेलिभिजन हेर्न सक्ने भएका छन्।
हालै परिमार्जन गरिएको हाइवे कोड अर्थात् राजमार्ग संहिताअन्तर्गत राजमार्गमा स्वचालित गाडीमा टेलिभिजन हेर्न पाइने व्यवस्था गरिएको बीबीसीले जनाएको छ।
यो परिमार्जनले गाडीमा टेलिभिजन हेर्न इजाजत दिए पनि आवश्यक परेको बेला चालकले गाडीलाई नियन्त्रणमा लिन तत्पर हुनुपर्ने सरकारले जनाएको छ।
स्वचालित प्रविधिको पहिलो प्रयोग भिडभाड भएको सडकमा सुस्त गतिमा चलाउनका लागि गरिनुपर्छ। तर सवारी चलाउँदा मोबाइल फोनको प्रयोग भने वर्जित नै छ।
बेलायतका सडकमा भने हालसम्म कुनै स्वचालित गाडीहरुलाई इजाजत दिइएको छैन तर यसै वर्षको अन्त्यसम्ममा इजाजत दिइने त्यहाँको यातायात विभागलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
राजमार्ग संहितामा गरिएको यो योजनाबद्ध परिमार्जन यही ग्रीष्म ऋतुमा लागू हुने अपेक्षा गरिएको छ।
यसमा दिइएका सुझावहरु सर्वसाधारणसँगको परामर्शमा ल्याइएको र प्रविधिलाई आत्मसात् गर्ने शुरुवाती उपायका रुपमा लिइएको बुझिएको छ। यसको पूर्ण रुपमा कार्यान्वयन हुन भने २०२५ सम्म पर्खनुपर्ने बताइएको छ।
प्रकाशित: ७ बैशाख २०७९, बुधबार