स्मार्ट टेलिकममा यूएईमा आधारित कम्पनी सेटेलियाले लगानी गर्ने

  • Technology Khabar | ३० चैत्र २०७८, बुधबार
स्मार्ट टेलिकममा यूएईमा आधारित कम्पनी सेटेलियाले लगानी गर्ने

काठमाडौं ।

लाइसेन्स खारेजीमा परेर पुनरावेदनमा गएको स्मार्ट टेलिकम प्रालिमा अन्तर्राष्ट्रिय कम्पनी सेटेलिया एस.ए.एस. ले लगानी गर्ने भएको छ। फ्रान्समा आधारित टेलिकम तथा डिजिटल सेवासँग सम्बन्धित कम्पनी सेटेलियाको यूएई स्थित भेन्चरले लगानी गर्ने भएको हो।

यो जानकारी स्मार्ट टेलिकम आफैंले नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको हो।

प्राधिकरण उच्च स्रोतकाअनुसार बाँकी बक्यौता तिर्न नसक्दा अनुमति पत्र खारेजीमा परेको कम्पनीले प्राधिकरणलाई विदेशी कम्पनीको लगानी आउन लागेको जानकारी दिएको हो ।

“स्मार्ट टेलिकमले हामीले सोधेको स्पष्टिकरणको जवाफमा पत्र पठाउँदै विदेशी लगानीको जानकारी दिएको हो,” सो पत्र हेरेको स्रोतले दाबी गरेको छ ।

यसअघि नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले लाइसेन्स किन खारेज नगर्ने भन्दै १५ दिने स्पष्टिकरणको पत्र पठाएको थियो। सोहि पत्रको जवाफमा कम्पनीले विदेशी लगानी भित्र्याउन लागिएको र को सेटेलिया, यूएईले लगानी गर्ने दाबी गरेको हो।

सेटेलियाको यूएईमा रहेको भेन्चरले लगानी गर्ने बताईएको छ। तर सो पत्रमा कम्पनीले कसरी र कुन मोडालिटीमा लगानी गर्दछ भन्ने जानकारी दिईएको छैन्।

“लाइसेन्स निरन्तर गरिदिन भन्दै अनुरोध गरेर विदेशी लगानी ल्याउन लागेको जानकारी दिएको छ,” स्रोतले भन्यो।

यसका साथै कम्पनीले आगामी दिनमा बाँकी बक्यौता रकम तिर्ने र त्यसको लागि समय माग गरेको पत्रमा उल्लेख गरेको छ।

बाँकी बक्यौता तिर्न पटक पटक भाका सारेको र म्यादभित्र रकम नतिरेको भन्दै दूरसञ्चार प्राधिकरणले अनुमति पत्र खारेज गरिदिएको छ। सोहि प्रक्रियामा प्राधिकरणले चैत ६ गते पत्र पठाएर १५ दिनभित्र जवाफ माग गरेको थियो।

हेर्नुस् सम्बन्धित समाचार-

स्मार्ट टेलिकमको अनुमति पत्र खारेज गर्ने क्रममा अन्तिम पटक स्पष्टिकरण सोधिँदै

सोही पत्रको जवाफमा कम्पनीले सेटेलिया यूएईमार्फत विदेशी लगानी भित्र्याउन लागेको जानकारी दिएको हो।

सेटेलिया फ्रान्समा आधारित टेलिकमसँग सम्बन्धित सेवा प्रदायक कम्पनी हो जसको उपस्थिती फ्रान्स, बेल्जियम, इटाली, नेदरल्याण्ड्ससहित मध्यपूर्वका लेबनान र अल्जेरियामा समेत रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ।

“सेटेलियाले फ्रान्स र विश्वव्यापी मञ्चमा टेलिकम, आईटी र डिजिटल रूपान्तरणको क्षेत्रमा पेशेवरहरूलाई परामर्श र परियोजना व्यवस्थापन सेवाहरू प्रदान गर्दछ,” कम्पनीले वेबसाइटमा भनेको छ।

कम्पनी टेलिकम बाहेक अन्य डिजिटल सेवाहरुको क्षेत्रमा समेत रहेको उल्लेख छ। टेलिकम क्षेत्रमा विशेषगरी सिमकार्ड तथा चिपसेट नेटवर्क अप्टिमाइजेसन नेटवर्क जडान अपरेशनल सपोर्ट कन्ट्याक्टलेस टेक्नोलोजीलगायतमा विज्ञता भएको दाबी गरेको छ।

यसअघि पनि स्मार्ट टेलिकममा जापानी कम्पनी ओसियन केबल एण्ड कम्युनिकेसन्स (ओसीसी) कर्पोरेसनले लगानी गर्ने समाचारहरु आएको थियो तर कम्पनीले २०७८ बैशाखमा वेबसाइटमार्फत सो समाचारको खण्डन गरेको थियो।

स्मार्टले पठाएको जवाफसहितको पत्र र जवाफको बारेमा आगामी बोर्ड बैठकमा छलफल गरिने र त्यसपछि थप कदम चालिने बताईएको छ।

हेर्नुस् सम्बन्धित समाचार-

स्मार्ट टेलिकम किन्ने समाचार गलत भएको ओसीसी कर्पोरेसनको भनाई

स्मार्ट टेलिकमले फ्रिक्वेन्सी दस्तुरको रकम पहिलो किस्तामा करिब ६० करोड रुपैयाँ, दोस्रो किस्ता बापतको करिब ८३ करोड रुपैयाँ, तेस्रो किस्तामा ७७ करोड, चौथो किस्तामा साढे ७१ करोड र पाँचौं किस्ता बापत करिब ६६ करोड रुपैयाँ सरकारलाई बाँकी बक्यौता रकम बुझाउनुपर्ने थियो।

यस बाहेक कम्पनीको अनुमति पत्र नवीकरण दस्तुरको आठौं किस्ता रकम छुट्टै १ अर्ब २५ करोड रुपैयाँ सरकारलाई बुझाएको छैन्। तर कम्पनीले हालसम्म कुनै रकम तिर्न सकेको छैन् ।

स्मरणरहोस् प्राधिकरणले पहिलोपल्ट २०७६ साउन १३ गते स्मार्ट टेलिकमको लाइसेन्स खारेजी गरिदिएको थियो भने पछि सरकारले त्यसमा सुनुवाई गर्दै पुस २१ गतेको मन्त्रिपरिषदले ५ किस्तामा रकम भुक्तानी गर्ने सुबिधा दिँदै अनुमति पत्र बचाएको थियो।

त्यसपछि फेरी सरकारले दोस्रो पटक रकम तिर्ने मौका २०७८ असार मसान्तसम्म दिएको थियो। तर सो अवधिमा पनि कम्पनीले रकम तिर्न नसकेपछि १ वर्षको म्याद थपिदिन भन्दै दिएको निवेदनमा सुनुवाई गर्दै केपी ओली सरकार जाने अन्तिम समयमा २०७८ पुस मसान्तसम्मको अवधि थप गरिदिएको थियो।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार