
काठमाडौं ।
पहिलोपटक पूर्णत: निजी मिसनमा इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) पुग्नका लागि चारजना अन्तरिक्ष यात्रीले उडान भरेका छन्।
ती चारैजना पुरुषका टोलिलाई (एक्जिअम–१ क्रू) नाम दिइएको छ। एक्जिअम एउटा व्यावसायिक अन्तरिक्ष उडान कम्पनी हो। केही वर्षपछि अन्तरिक्षमा आफ्नै स्टेसन निर्माण गर्ने यसले आशा लिएको छ।
अमेरिकाको स्थानीय समयअनुसार बिहान ११ बजेर १७ मिनेट जाँदा स्पेक्स एक्स फल्कन रकेटमा बसेर यो टोलि फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट प्रस्थान गरेको हो । ‘एन्डिभर’ नाम दिइएको क्याप्सुल शनिबार स्टेसनमा डक गर्ने अनुमान गरिएको छ।
अमेरिकी अन्तरिक्ष निकाय (नासा) का पूर्व अन्तरिक्ष यात्री माइकल लापेज–अल्जेरियाले यस मिसनको नेतृत्व सम्हालेका छन्। अन्य अन्तरिक्ष यात्रीमा अमेरिकी रियल स्टेट उद्यमी तथा एरोब्याटिक पायलट ल्यार्री कोन्नर, इजरायली लगानीकर्ता तथा समाजसेवी एतान स्टिब्बे र क्यानडाली उद्यमी, लगानीकर्ता तथा समाजसेवी मार्क प्याथी रहेका छन्। उनीहरूले आईएसएसमा आठ दिन बिताउने छन्।
यसका साथै उनीहरूले विभिन्न वैज्ञानिक अनुसन्धानलगायत अन्य परियोजनामा सहभागिता जनाउने छन्।
यस कम्पनीको आईएसएसतर्फको अर्को मिसन अर्थात ‘एक्जिअम–२’ यसै वर्षको उत्तरार्धमा वा सन् २०२३ को सुरुमा कार्यान्वयन गर्ने योजना बन्दै छ।
कम्पनीले आईएसएसको अमेरिकी खण्डमा आफ्नै मोड्युलहरू थप्न नासासँग सम्झौता गरेको छ।अन्ततः यी मोड्युलहरू आईएसएस सेवानिवृत्त हुनु अघि पूर्ण रूपमा निजी लियो गन्तव्य बन्नको लागि आफैंमा शुरुवात हुनेछन्।
प्रकाशित: २६ चैत्र २०७८, शनिबार