हुम्लामा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्ध

  • Technology Khabar | २४ चैत्र २०७८, बिहीबार
हुम्लामा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्ध
सांकेतिक तस्बिर

काठमाडौं ।

हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरीमा रहेको नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको पाँच महिना भएको छ। मर्मतमा नेपाल टेलिकम शाखा हुम्लाले वास्ता नगर्दा सेवाग्राहीले पाँच महिनादेखि सास्ती खेप्नु परेको बताईएको छ।

गत मङ्सिरमा बिग्रिएको नमस्ते टेलिफोन टावरको अझै मर्मत हुन सकिरहेको छैन। पाँच महिना टेलिफोन सेवा अवरुद्ध हुँदा उत्तरी नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका अधिकांश गाउँका नागरिक सञ्चारमा जोडिसकेका छैनन् ।

सिमकोट–७ धारापोरीमा रहेको टावरमा खराबी आएका कारण पाँच महिनादेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाको पहुँचबाट टाढा रहेको स्थानीय पाङ्लाथुम गाउँका बासिन्दाले गुनासो गरे। धारापोरी टावरमा खराबी आएका कारण दुई गाउँपालिकाका सिमकोट र नाम्खाका केही वडाका सेवाग्राहीलाई समस्या भएको छ।

धारापोरीको ठाडा ढुङ्गा लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सिमकोटका स्याडा, डाडाँफया, चौगनफाय, धारापोरी, खोल्सी र पाङ्लाथुम तथा नाम्खाका हेप्का, धिगाँ, केर्मी, खगालगाउँ, गाडापारीलगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित रहेको स्थानीयवासीले बताए।

टावर मर्मतका लागि नेपाल टेलिकम शाखा सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरेको स्थानीयवासीले बताएका छन् । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ। सिमकोटमा रहेको नमस्ते टावरले कहिलेकाहीँ मात्रै काम गर्ने गरेको छ।

त्यस क्षेत्रमा रहेको नेपाल टेलिकमको बिटिएसमा गत मङ्सिरमा आगलागी हुँदा मोबाइल सेवा अवरुद्ध भएको हो। विद्युत् सर्ट भएर आगलागी भएको थियो। लामो समयदेखि आफन्तसँग फोन सम्पर्कमा जोडिन नसकेको बताइएको छ।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...