काठमाडौं ।
दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवा एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने उद्देश्यसहित ‘डेली सेवा’ सञ्चालनमा आएको छ। डेली सेवा प्रालिले घरायसीदेखि व्यावसायिक सेवासम्मलाई डिजिटल माध्यमबाट जोड्ने गरी स्वचालित सर्भिस मार्केट–प्लेस सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार डेली सेवामार्फत सेवाग्राहीले मोबाइल एप वा वेबसाइटबाट आफूलाई आवश्यक सेवा बुक गर्न सक्नेछन्। त्यस्तै, दक्ष तथा इच्छुक नेपाली नागरिकले आफ्नो व्यवसाय वा सीपको विवरण दर्ता गरी सेवाप्रदायकका रूपमा प्लेटफर्ममा आबद्ध हुन सक्नेछन्।
हाल डेली सेवामा १० वटा विधाअन्तर्गत १०० भन्दा बढी सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ। घर निर्माण तथा मर्मत, विद्युतीय उपकरण, सीप तथा तालिम, विशेषज्ञ सेवा, ग्याजेट तथा प्राविधिक सहयोग, अन–कल सेवा, लजिस्टिक्स तथा ढुवानी, किचन र क्लिनिङलगायत सेवा प्लेटफर्ममा समेटिएका छन्।
डेली सेवा प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश न्यौपानेले दैनिक तथा व्यावसायिक आवश्यकताका सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यले सेवा सुरु गरिएको बताए।
उनका अनुसार घरबाटै सेवा बुक गर्न सकिने भएकाले सेवाग्राहीको समय र श्रम बचत हुनुका साथै दक्ष, अर्धदक्ष तथा अदक्ष जनशक्तिलाई रोजगारी र व्यवसाय विस्तारको अवसर मिल्ने अपेक्षा गरिएको छ।
कम्पनीले सेवा गुणस्तर र विश्वसनीयताका लागि सेवाग्राहीले सेवा लिएपछि सेवाप्रदायकलाई रेटिङ गर्न सक्ने व्यवस्था पनि एपमा राखेको जनाएको छ।
डेली सेवाले हाल काठमाडौं उपत्यकाबाट सेवा सुरु गरेको छ। कम्पनीले आगामी दिनमा सेवा देशभर विस्तार गर्ने योजना बनाएको जनाएको छ।
डेली सेवा मोबाइल एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिने तथा थप जानकारी कम्पनीको वेबसाइट www.dailysewa.com बाट लिन सकिनेछ।
प्रकाशित: १७ आश्विन २०८३, शनिबार