काठमाडौं ।
एप्पलको लामो समयदेखि प्रतीक्षा गरिएको होम हब अक्टोबर १३ मा सार्वजनिक हुन सक्ने ब्लुमबर्गका एप्पलसम्बन्धी जानकार मार्क गुरम्यानले बताएका छन्।
करिब दुई वर्षदेखि चर्चामा रहेको इको शो जस्तै यो उपकरण एप्पलको स्मार्ट होम प्रविधितर्फको विस्तारको केन्द्रमा रहनेछ। यो एप्पलका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत जोन टर्नसका लागि महत्वपूर्ण उत्पादन पनि हुनेछ।
इन्ग्याजेटका अनुसार डिस्प्ले, क्यामरा र माइक्रोफोनसहितको होम हब उपकरण लगभग तयार भइसकेको गर्मनले यसअघि बताएका थिए। यस्तो उपकरण हालै म्याकओएस टाहो २७.६ मा जे४९० कोडनेमसहित पनि देखिएको थियो।
गर्मनका स्रोतका अनुसार होम हब ६ इन्चको वर्गाकार डिस्प्लेको रूपमा आउनेछ। यसका टेबलमा राख्न मिल्ने र भित्तामा जडान गर्न मिल्ने दुवै संस्करण हुनेछन्। यो सन् २००२ मा आएको आइम्याक जस्तै देखिन सक्ने बताइएको छ, जसमा अर्धगोलाकार आधारमाथि घुमाउन मिल्ने डिस्प्ले थियो।
गर्मनका अनुसार एप्पलले अर्को होम हब संस्करण पनि विकास गरिरहेको छ, जसमा ठूलो ९ इन्चको डिस्प्ले र रोबोटिक हात हुनेछ। यसअघि उल्लेख गरिएअनुसार होम हबमा एप्पलका अन्य अपरेटिङ सिस्टमका विभिन्न सुविधा समेटिएको नयाँ अपरेटिङ सिस्टम चल्नेछ। यो नयाँ सिरी कृत्रिम बुद्धिमता सहायकको प्रदर्शन गर्ने प्रमुख उपकरण पनि हुनेछ।
होम हबले अनुहार र आवाज पहिचान प्रविधि प्रयोग गरी उपकरणसँग कुरा गर्ने वा त्यसको नजिक आउने व्यक्तिका आधारमा व्यक्तिगत सामग्री देखाउनेछ। अर्को पहिचान गरिएको व्यक्ति नजिक आउँदा इन्टरफेस स्वतः परिवर्तन हुनेछ। यसमा व्यक्तिगत जानकारी लुकाउने ‘भिजिटर मोड’ पनि हुनेछ।
अनुहार पहिचान प्रविधि आईफोनको फेस आईडी जत्तिकै सटीक नहुने बताइएको छ। प्रयोगकर्ताले उपकरणको पहिचान प्रणालीमा भर पर्न नचाहेमा अतिरिक्त प्रमाणीकरणका लागि छुट्टै व्यवस्था गर्न सक्नेछन्। प्रयोगकर्ताको अनुहारलाई राम्रोसँग उज्यालो पार्न यसमा सेतो रङको रिङ लाइट पनि हुनेछ।
रिपोर्टअनुसार नयाँ उपकरणबाट थर्मोस्ट्याट, ढोकाका लक र अन्य कनेक्टेड उपकरण नियन्त्रण गर्न सकिनेछ। प्रयोगकर्ताले भिडियो कल, धेरै उपकरणबीच इन्टरकम सञ्चार, आईक्लाउड फोटो स्लाइड शो तथा संगीत स्ट्रिमिङ गर्न पनि सक्नेछन्।
एप्पलले यसलाई भान्साका लागि सूचना केन्द्रका रूपमा पनि प्रयोग गर्ने योजना बनाएको छ। यसबाट खाना पकाउँदै गर्दा रेसिपी खोज्न, भिडियो हेर्न वा फेसटाइम कल गर्न सकिनेछ।
एप्पलको होम हब उपकरण सन् २०२४ मै सार्वजनिक गर्ने योजना थियो। तर एप्पल इन्टेलिजेन्समा देखिएका समस्याका कारण यसको सार्वजनिक गर्ने मिति पछि सारिएको बताइएको थियो। नयाँ सिरी कृत्रिम बुद्धिमता सहायक अन्ततः यही महिना सार्वजनिक हुने भएपछि एप्पलको स्मार्ट डिस्प्ले होम उपकरण पनि बजारमा आउने सम्भावना बढेको छ।
प्रकाशित: १६ आश्विन २०८३, शुक्रबार