सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्ति बारेमा संसदिय छानबिन गर्न सांसद ओलीको माग

  • Technology Khabar | १५ आश्विन २०८३, बिहीबार
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्ति बारेमा संसदिय छानबिन गर्न सांसद ओलीको माग
फाइल तस्बिर।

काठमाडौं ।

प्रतिनिधि सभाकी सांसद खुस्बु ओलीले सेटिङ्गमा सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक पदमा किरण तिमसिनालाई नियुक्त गरिएको गंभिर आरोप लगाएकी छन्।

उनले आजको संसद बैठकमा बोल्दै तिमसिनालाई नियुक्ति संस्थागत सेटिङ्गमा गरिएको भन्दै संसदबाट प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन्।

उनले सो केन्द्रको नियुक्तिका लागि भर्तिका लागि सम्पूर्ण राज्य संयन्त्रनै प्रयोग गरिएको आरोप लगाईन्। कार्यकारी निर्देशक तिमसिनाको संयोजकत्वमा केन्द्रको टिओआर बनाईएको र उनलाईनै नियुक्त गरिएको बताईन्।

उनले मन्त्रिपरिषदबाट सरकारले तिमसिनालाई गरेको नियुक्ति समेत लुकाईएको भन्दै यसबारेमा सुचना लुकाईएको समेत बताईन्।

“…विज्ञापन खुल्नुअघिनै प्रधानमन्त्री कार्यालयमा केक काटेर उत्सव मनाउने र नियुक्तिको निर्णय पाँच दिनसम्म गोप्य राख्ने के यहि सुशासन हो ? यो ओपन सेटिङ्ग हो की यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो ? सोध्न चाहन्छु,” उनले भनिन्।

सांसद ओलीले यस बारेमा संसदिय छानबिन र अनुसन्धान गर्न तथा प्रधानमन्त्री कार्यालयका सल्लाहकार, सचिवालय, कर्मचारीहरुलाई कारबाही गर्न माग गरेकी छन्।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक पदमा किरण तिमसिना नियुक्त भएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक विज्ञप्ति जारी गर्दै असोज ९ गते यसबारे जानकारी दिएको थियो।

सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८२ को दफा १३ बमोजिम केन्द्रको रिक्त कार्यकारी निर्देशक पद खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न २०८३/०५/१९ गते सार्वजनिक रूपमा दरखास्त आह्वान गरिएको थियो।

यसअघि सरकारले केन्द्रको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २७ जनाको आवेदन परेकोमा छनोट समितिले ६ जनालाई सर्टलिस्ट गरेको थियो।

उक्त सर्टलिस्टमा नारायणप्रसाद घिमिरे, ध्रुव ज्ञवाली, डा. भोजराज घिमिरे, ई. निराजन पन्थी, किरण तिमिल्सिना र डा. श्रीधर मरासिनी परेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी स्थापना गरिएको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमा सीईओ नियुक्तिका लागि भदौ १९ गते विज्ञापन प्रकाशित गरिएको थियो।

प्रकाशित: १५ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार