फ्रान्सेली कम्पनी सेकोइयाले ग्राहकका लागि ल्यायो एआई साइबर सुरक्षा प्लेटफर्म

  • Technology Khabar | १५ आश्विन २०८३, बिहीबार
फ्रान्सेली कम्पनी सेकोइयाले ग्राहकका लागि ल्यायो एआई साइबर सुरक्षा प्लेटफर्म

काठमाडौं ।

फ्रान्सेली साइबर सुरक्षा कम्पनी सेकोइयाले आफ्ना ग्राहकका लागि ‘एलिभेट’ नामक एआई एजेन्टिक साइबर सुरक्षा प्लेटफर्म सार्वजनिक गरेको छ। कम्पनीले बुधबार करिब २ हजार ग्राहक सहभागी प्रारम्भिक पहुँच कार्यक्रमपछि सेवा औपचारिक रूपमा उपलब्ध गराएको जनाएको छ।

साइबर अपराधीहरूले पछिल्लो समय एआई एजेन्टको प्रयोग बढाउँदै लगेका छन्। यससँगै साइबर आक्रमणको संख्या र स्वरूपमा परिवर्तन आएपछि साइबर सुरक्षा कम्पनीहरूले पनि एआईमा आधारित प्रतिरक्षा प्रणाली विकास गर्न थालेका छन्।

रोयटर्सका अनुसार एलिभेट मार्फत ग्राहकले आफूले रोजेको एआई मोडल जोड्न सक्छन्। उक्त मोडललाई साइबर सुरक्षा जोखिम तथा आक्रमणको विश्लेषण स्वचालित रूपमा गर्न आवश्यक उपकरण उपलब्ध गराउने प्लेटफर्मको उद्देश्य रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यूरोप र अमेरिकाका सेवा प्रदायकहरूले प्रारम्भिक पहुँच कार्यक्रममा एलिभेट परीक्षण गरेका थिए। उनीहरूले साइबर सुरक्षा घटनाको अनुसन्धान गर्न लाग्ने समय पाँच गुणासम्म घटेको बताएका छन्।

सेकोइयाका प्रमुख कार्यकारी अधिकृत फ्रेडी मिलेसीले एआई मोडल मात्रै प्रतिस्पर्धात्मक आधार नभएको बताएका छन्। उनका अनुसार एआई मोडललाई प्रभावकारी बनाउने मुख्य कुरा त्यस वरिपरि रहेको प्रणाली हो। सन् २०२२ मा स्थापना भएको सेकोइयाका ग्राहकमा फ्रान्सेली ऊर्जा कम्पनी ईडीएफ, भिन्ची र फ्रान्सेली सशस्त्र बल मन्त्रालय रहेका छन्।

प्रकाशित: १५ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार