होम अप्लायन्सेस एसेम्बलकर्ता डीएचआईको सञ्चालन आम्दानीमा सुधार, ६९ करोड रुपैयाँको ऋणका लागि केयर रेटिङ

  • Technology Khabar | १२ आश्विन २०८३, सोमबार
होम अप्लायन्सेस एसेम्बलकर्ता डीएचआईको सञ्चालन आम्दानीमा सुधार, ६९ करोड रुपैयाँको ऋणका लागि केयर रेटिङ

काठमाडौं ।

सेट टप बक्स तथा इलेक्ट्रोनिक होम अप्लायन्सेसको कारोबार गर्दै आएको डिजिटल होम इन्टरनेसनल प्राइभेट लिमिटेडको ६९ करोड २० लाख रुपैयाँ बराबरको बैंक ऋण सुविधाको रेटिङ पुनः पुष्टि भएको छ।

केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन बैंक ऋण सुविधाका लागि ‘केयर–एनपी बी’ र अल्पकालीन बैंक ऋण सुविधाका लागि ‘केयर–एनपी ए४’ रेटिङ पुनः पुष्टि गरेको हो।

कम्पनीको कुल बैंकिङ सुविधा यसअघि ७० करोड रुपैयाँ रहेकामा घटेर ६९ करोड २० लाख रुपैयाँ कायम भएको छ। यस हिसाबले कम्पनीले ६९ करोड २० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछ।

कम्पनीको दीर्घकालीन बैंक ऋण सुविधा १९ करोड ७० लाख रुपैयाँ रहेको छ, जुन यसअघि २० करोड ५० लाख रुपैयाँ थियो। यस्तै, अल्पकालीन बैंक ऋण सुविधा ४९ करोड ५० लाख रुपैयाँ कायम गरिएको छ।

केयर रेटिङ्स नेपालका अनुसार आर्थिक वर्ष २०२६ मा डिजिटल होमको वित्तीय जोखिम प्रोफाइल सामान्य रहेको छ। कम्पनीको पुँजी संरचना उच्च ऋणमा आधारित रहे पनि अघिल्लो वर्षको तुलनामा समग्र गियरिङ अनुपातमा केही सुधार भएको छ।

आर्थिक वर्ष २०२६ को मध्य-जुलाईसम्म कम्पनीको गियरिङ अनुपात ३.३३ गुणा रहेको थियो, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३.७९ गुणा थियो।

कम्पनीको सञ्चालन आम्दानी भने आर्थिक वर्ष २०२६ मा करिब ५९ प्रतिशतले बढेर ५९ करोड ७० लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०२५ मा यस्तो आम्दानी ३७ करोड ५० लाख रुपैयाँ थियो। इलेक्ट्रोनिक्स तथा विद्युतीय उपकरणको मागमा रहेको स्थिरताका कारण कारोबार बढेको रेटिङ एजेन्सीले जनाएको छ।

तर कारोबार बढे पनि कम्पनीको सञ्चालन मुनाफा मार्जिनमा ठूलो सुधार देखिएको छैन। आर्थिक वर्ष २०२६ मा पीबीआईएलडीटी मार्जिन ९.४१ प्रतिशत रहेको थियो, जुन अघिल्लो वर्ष ९.३३ प्रतिशत थियो। खुद नाफा मार्जिन भने आर्थिक वर्ष २०२६ मा १.०८ प्रतिशत पुगेको छ।

डिजिटल होमको कारोबार कार्यगत पुँजीमा बढी निर्भर रहेको छ। कम्पनीले भारत, चीनलगायत देशबाट पार्टपुर्जा तथा कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन तथा एसेम्बल गरेर बिक्री गर्छ।

आर्थिक वर्ष २०२६ मा कम्पनीको औसत भण्डारण अवधि २३९ दिन पुगेको थियो भने ग्राहकबाट रकम उठाउने औसत अवधि २०२ दिन रहेको थियो। यसका कारण कम्पनीको सञ्चालन चक्र ३८८ दिन रहेको केयरले जनाएको छ।

डिजिटल होम सेट टप बक्स तथा इलेक्ट्रोनिक होम अप्लायन्सेसको एसेम्बलिङ तथा कारोबारमा संलग्न छ। कम्पनीले आफ्नै ‘डीएचआई’ ब्रान्डमा इलेक्ट्रोनिक होम अप्लायन्सेस बिक्री गर्दै आएको छ। कम्पनीका अनुसार उसले करिब ७० प्रकारका होम अप्लायन्सेस एसेम्बल गर्दै आएको छ भने नेपालभर सातै प्रदेशमा करिब ३१४ वटा वितरण च्यानल रहेका छन्।

यस्तो छ कम्पनीको वित्तीय विवरण:

विवरण आर्थिक वर्ष २०२४-लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०२५-लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०२६ -लेखापरीक्षण नगरिएको
सञ्चालन आम्दानी मिलियनमा ८९६ ३७५ ५९७
पीबीआईएलडीटी मार्जिन ११.२० ९.३३ ९.४१
समग्र गियरिङ – पटक २.८० ३.७९ ३.३४
ब्याज कभरेज – पटक २.४० ०.७५ १.३१
चालु अनुपात – पटक १.१० १.१० १.५९
कुल ऋण/ग्रस क्यास एक्रुअल्स – पटक ६.२७ ऋणात्मक ३४.८०

 

प्रकाशित: १२ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार