काठमाडौं ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) को सहकार्यमा नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आयोजना हुने भएको छ।
‘नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता र भविष्यको रोजगारी’ नारासहित हुने सम्मेलन असोज २३ गते काठमाडौंमा आयोजना गर्न लागिएको हो। सम्मेलन आयोजना गर्ने सम्बन्धमा सिबिफिन र एनबिआईबीच असोज ५ गते समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्मेलनमा एआई, युवा उद्यमशीलता र रोजगारीका विषयमा छलफल हुने आयोजकले जनाएको छ। कार्यक्रममा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था तथा विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीको सहभागिता रहने बताइएको छ। देशभरबाट ४०० उद्यमी, व्यवसायी तथा सरोकारवाला सहभागी हुने अपेक्षा गरिएको छ।
सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा प्रविधिको उपयोगलगायत विषयमा केन्द्रित हुँदै बैंकिङ तथा वित्तीय क्षेत्र र युवा उद्यमीबीचको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताए।
उनका अनुसार सम्मेलनमार्फत युवा उद्यमीमा वित्तीय साक्षरता बढाउने, डिजिटल बैंकिङको उपयोग विस्तार गर्ने, जिम्मेवार कर्जा उपभोगको संस्कृति विकास गर्ने तथा बैंक तथा वित्तीय संस्थाका नवीन वित्तीय उत्पादनलाई लक्षित वर्गसम्म पुर्याउने विषयमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताए। उनले नीतिगत व्यवस्था, स्टार्टअपका लागि बीउ पुँजी तथा युवा उद्यममा वित्तीय पहुँचजस्ता विषय बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सम्बन्धित रहेकाले सिबिफिनसँगको सहकार्यले सम्मेलनलाई थप प्रभावकारी बनाउने बताए।
आयोजकका अनुसार सम्मेलनले युवा उद्यमी तथा वित्तीय क्षेत्रमैत्री नीति निर्माण र लगानीको वातावरण सुधारका लागि दिशाबोध गर्ने अपेक्षा गरिएको छ। उद्यमशीलता, स्टार्टअप, नवीन प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा काम गरिरहेका र अघि बढ्न खोजिरहेका युवा उद्यमीलाई सम्मेलनले मार्गनिर्देशन गर्ने आयोजकको विश्वास छ।
प्रकाशित: ८ आश्विन २०८३, बिहीबार