काठमाडौं ।
सरकारले कोशी प्रदेशको इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिए।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मेलालाई उद्योग, रोजगारदाता, रोजगारी खोज्ने व्यक्ति, सीप तालिम दिने संस्था र करियर काउन्सिलिङ संस्थाबीच समन्वय गर्ने एकीकृत प्लेटफर्मका रूपमा अघि बढाएको बताए।
उनले रोजगारदाताले कामदार नभेट्ने र कामदारले रोजगारदाता नभेट्ने अवस्थालाई अन्त्य गर्न दुवै पक्षलाई एउटै मञ्चमा ल्याउने गरी मेलाको अवधारणा अघि बढाइएको स्पष्ट पारे। मन्त्री यादवका अनुसार मेलामा रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने व्यवस्था गरिएको छ।
मेलाका लागि तयार गरिएको (jobfair.shramsansar.gov.np) पोर्टलमार्फत कोशी प्रदेशमा रहेका स्थानीय तहमा कार्यरत रोजगार संयोजकको सक्रिय सहभागितामा रोजगारदाता तथा रोजगारी खोज्ने व्यक्तिबीच अधिकतम जब ‘म्याचिङ’ गरी रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको उनले बताए।
मन्त्रालयका अनुसार मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत १० विधाका ६५ वटा स्टल रहनेछन्। मेलामा कोशी प्रदेशका १३७ स्थानीय तह, निजी क्षेत्र, तीनै तहका सरकार तथा विकास साझेदारको सहभागिता रहनेछ।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा पर्ने विराटनगर, धरान, इटहरी, इनरुवा, सुन्दरहरैँचा, दुहबी, कटहरी, बूढीगङ्गा र गढीलगायत कोशी प्रदेशका सबै १३७ स्थानीय तह, निजी क्षेत्र तथा तीनै तहका सरकार र विकास साझेदारको सहभागिता र सहकार्यमा मेला आयोजना गर्न लागिएको हो।
‘माग, सीप तालिम र रोजगार’लाई एउटै प्रणालीमा आबद्ध गरी आवश्यकताका आधारमा सीप तालिम सञ्चालन गर्ने र रोजगारी सुनिश्चित गर्ने मेलाको मुख्य अवधारणा रहेको मन्त्रालयका सचिव डा दीपक काफ्लेले बताए।
‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने नाराका साथ उत्पादनशील रोजगारी सिर्जना, सीप विकास तथा श्रम बनारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेला आयोजना गरिँदैछ। मेलामा सीप तालिम दिने संस्था, करियर काउन्सिलिङ संस्था तथा प्रेरणात्मक वक्ताको समेत सहभागिता रहने बताइएको छ।
मन्त्रालयका अनुसार मेलाका लागि सयौँ प्रतिष्ठान तथा उद्योगसँग समन्वय गरिएको र निजी क्षेत्रबाट सहयोग तथा सहभागिताका लागि लिखित प्रतिबद्धतासमेत प्राप्त भइसकेको छ। इटहरीबाट सुरु हुने मेला अन्य प्रदेशमा पनि सञ्चालन गरिनेछ।
सीप तथा रोजगार कार्यविधि स्वीकृत गरी कार्यक्रमलाई संस्थागत गरेको र अब प्रत्येक वर्ष मेला आयोजना गरिने मन्त्रालयले जनाएको छ। सरकारले राष्ट्रिय रोजगार नीति २०८३ र राष्ट्रिय रोजगार ऐनलाई अघि बढाउने तयारी समेत गरेको छ।
मन्त्री यादवले राष्ट्रिय रोजगार नीति २०८३ को सैद्धान्तिक सहमति लिएर मन्त्रिपरिषद्मा पठाउने तथा राष्ट्रिय रोजगार ऐन पनि मन्त्रिपरिषद्मा सहमतिका लागि पठाउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार यसै वर्ष १२ वटा ‘मुख्य’ रोजगार कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरिएको छ।
मन्त्री यादवले आन्तरिक रोजगारी लामो समयदेखि उपेक्षित रहेको उल्लेख गर्दै युवाले आफ्नै देशमा रोजगारी तथा स्वरोजगारीको अवसर पाउने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता रहेको बताए। आन्तरिक रोजगारीका कार्यक्रम कार्यान्वयनका लागि छुट्टै कार्यान्वयनकारी निकायको आवश्यकता रहेको उनको भनाइ थियो।
प्रकाशित: ७ आश्विन २०८३, बुधबार