क्यान महासंघमा फेरि भाँडभैलो, कार्यवाहक अध्यक्षले एसोसिओमा व्यक्तिगतरुपमा पत्र पठाए, महासचिवलाई लगाए दुष्प्रयोगको आरोप

  • Technology Khabar | १ आश्विन २०८३, बिहीबार
क्यान महासंघमा फेरि भाँडभैलो, कार्यवाहक अध्यक्षले एसोसिओमा व्यक्तिगतरुपमा पत्र पठाए, महासचिवलाई लगाए दुष्प्रयोगको आरोप

काठमाडौं ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) भित्र कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी पक्ष र महासचिव चन्द्र विलास भुर्तेल पक्षबिच विवाद उत्पन्न भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा नेपाल प्रहरीको साइबर ब्यूरोसम्म उजुरी पुगेको छ।

दुबै पक्षले एक अर्कालाई संस्थाको संस्थाको नाम, आधिकारिक लेटरहेड, छाप तथा दर्ता-चलानी नम्बर अनधिकृत प्रयोग गरेको र विधान विपरितका कामहरु गरेको गंभिर आरोप लगाएका छन्।

क्यान महासंघका महासचिवले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यवाहक अध्यक्ष अधिकारीले संस्थाको नाम, आधिकारिक लेटरहेड, छाप तथा दर्ता-चलानी नम्बर अनधिकृत प्रयोग गरेको गंभिर आरोप लगाएका थिए।

क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीले लेटरहेड, छाप तथा दर्ता-चलानी नम्बरको दूरुपयोग गरेको गंभिर आरोप

त्यसको लगत्तै बुधबार बेलुका कार्यवाहक अध्यक्ष अधिकारीले ह्वाट्सएप ग्रुपमार्फत महासचिव लगायतलाई विधानको दफा २८ ले तोकेका काम, कर्तव्य र अधिकारभन्दा बाहिर गई महासंघको आधिकारिक इमेल खाता, संस्थागत संरचना, सदस्य अभिलेख, ASOCIO/WITSA सम्बन्धी पत्राचार तथा वित्तीय अभिलेखहरू अन्य पदाधिकारी र स्वयं कार्यवाहक अध्यक्षलाई जानकारी नै नदिई एकलौटी कब्जा गरी दुरुपयोग गरेको आरोप लगाउँदै सूचना पठाएका थिए।

अधिकारीकाअनुसार, यस विषयमा उनले महासचिव चन्द्रविलास भुर्तेलविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौं र साउन १५ गते नेपाल प्रहरी साइबर ब्युरो काठमाडौंमा पनि निवेदन दर्ता गराएका छन्।

क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीद्वारा महासचिवविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी

तर यो विवाद अहिलेदेखि शुरु भएको भने होईन्।

अधिकारी कार्यवाहक अध्यक्ष भएदेखिनै विवाद शुरु भएको देखिन्छ। उनले विभिन्न निकाय र संस्थाहरुसँग रेकर्डमानै नरहनेगरी सहमति र छलपल गर्ने गरेको आरोप लाग्दै आएकोमा हाल एसोसियो र विट्सामा प्रतिनिधित्व गर्ने विषयले गर्दा विवाद चरम बिन्दुमा पुगेको हो।

टेक्नोलोजीखबरले स्रोतहरुमार्फत पाएको एसोसियो र विट्सालाई पठाईएका डकुमेन्टहरुमा कार्यवाहक अध्यक्ष अधिकारीले व्यक्तिगत ईमेल प्रयोग गरेर पत्राचारहरु गर्न भनेको देखिन्छ।

यसअघि संस्थागतरुपमा प्रतिनिधित्व गरिने गरेकोमा हाल उनले आफूखुशी प्रतिनिधि पठाउन खोजेपछि विवाद बढेको क्यानका कार्यसमिति सदस्यहरुले बताउँदै आएका छन्।

उनले एसोसियो सचिवालयका फ्रेड्ररिक चोङ्गलाई व्यक्तिगतरुपमा पत्र पठाएर प्रतिनिधित्व गराउन भनेका छन्। टेक्नोलोजीखबरले स्रोतमार्फत पाएको पत्रमा संस्थाको ईमेल रहेको सर्भरले काम नगरेको र आफ्नो व्यक्तिगत ईमेलमा पत्राचार गर्न भनिएको देखिन्छ।

अझ रोचक विषय भनेको एसोसिओमा प्रतिनिधित्वको लागि नाम दर्ता गराउने समय अगस्ट २१ तारिख २०२६ रहेकोमा त्यसपछिको मिति अर्थात अगस्ट २५ मा कार्यवाहक अध्यक्ष अधिकारीले पत्र पठाएका थिए।

उक्त पत्रमा अस्थाईरुपमा आफ्नो ईमेलमा पत्राचार गर्न र सो पत्र कार्यसमितिको निर्णयअनुसार पठाईएको भनिएको छ।

कार्यवाहक अध्यक्ष अधिकारीले व्यक्तिगतरुपमा एसोसिओमा पठाएको पत्रको जवाफ पनि टेक्नोलोजीखबरले पाएको छ। उक्त पत्रमा कार्यवाहक अध्यक्ष अधिकारीको पत्र अवैधानिक भएको र संस्थाको तर्फबाट महासचिवले यसअघिनै मनोनयनका लागि पत्र पठाएको जानकारी गराईएको छ।

यस्तै एसोसिओ सचिवालयले अधिकारीको ईमेलमार्फत पठाएको जवाफी पत्रमा कार्यवाहक अध्यक्ष अधिकारीले पठाएको पत्र ढिला आएको र मनोनयन तोक्ने समय अगस्ट २१ तारिखमानै सकिएको समेत स्पष्ट पारिएको देखिन्छ।

यसका साथै एसोसिओ सचिवालयले अधिकारीको ईमेलमा पत्र पठाउँदै क्यान महासंघको आधिकारीकता महासचिवसँग रहेको र यसअघिपनि सोहीअनुसार पत्राचार र मनोनयन हुने गरेको भन्दै सोही प्रकृया पालना गर्न समेत सुझाब दिएको छ।

अझ रमाईलो कुरा त के भने एसोसिओ सचिवालयलेनै क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीलाई उनको संस्थाको विधानमा भएको व्यवस्थाको बारेमा जानकारी गराएको देखिन्छ।

यसपछि फेरी क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीले अन्य विषयहरुसहित कार्यसमिति बैठक आव्हान गरेर सदस्यहरुलाई ईमेल पठाएका थिए।

तर उक्त कार्यसमिति बैठकमा भाँडभैलो भएपछि दुबैपक्ष एक आपसमा दोषारोपणमा उत्रिएको हो।

यसबिचमा कार्यवाहक अध्यक्ष अधिकारीले आफ्नोतर्फबाट उक्त प्रकृयाहरु पुरा गर्न क्यान महासंघको आधिकारीक ईमेल ठेगानाको युजर नेम र पासवर्ड मागेका थिए। तर क्यान सचिवालयले महासचिवलाई सो अधिकार हुने भन्दै युजरनेम र पासवर्ड दिन अस्विकार गरेको यस विषयमा जानकार स्रोतले बतायो।

“महासचिवको अधिनमा हुने क्यान सचिवालयलाई उनले थर्काएर आधिकारीक ईमेल ठेगानाको युजर नेम र पासवर्ड मागेका थिए। तर सो नपाएपछि उनले साइबर ब्यूरोमा ईमेल ह्याक भएको भन्दै उजुरी गरे,” परिचय उल्लेख नगर्ने शर्तमा जानकार स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।

जसलाई कार्यवाहक अध्यक्ष अधिकारीले आफ्नोतर्फबाट जारी गरिएको ग्रुप सूचनामा उल्लेख गरेर त्यसको पुष्टि गरेका छन्।

यो विषय हाल साइबर ब्यूरोमा छानबिनको क्रममा रहेको बताईएको छ।

तर उनले आफैंले व्यक्तिगत ईमेलमानै पत्राचार गर्न भनेर पत्र काटेको अवस्थमानै क्यान महासचिव भुर्तेलमाथि आरोप लगाउँदै भनेका छन्, “केन्द्रीय कार्यसमितिको स्वीकृतिबिना व्यक्तिगत इमेल प्रयोग गरी अन्तर्राष्ट्रिय निकायसँग पत्राचार गर्ने, लेटरहेड, लोगो, छाप र डिजिटल पहिचानको दुरुपयोग गर्ने जस्ता कार्य भइरहेको छ।”

महासंघको २०८१ पुस १३ गते काठमाडौंमा सम्पन्न भएको ३१ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशनबाट सुनैना घिमिरे पाण्डे अध्यक्ष, चिरञ्जीवी अधिकारी वरिष्ठ उपाध्यक्ष र चन्द्रविलास भुर्तेल महासचिव निर्वाचित भएका थिए।

अध्यक्ष पाण्डेले २०८३ वैशाख ३० गते राजीनामा दिएपछि विधानको दफा २६ को उपदफा ६ बमोजिम २०८३ जेठ ३ गते बसेको कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्ष अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो।

त्यसबेला अध्यक्ष सुनैना घिमिरे पाण्डेले किर्ते गरेको आरोप लागेको थियो। त्यसले नेपाल उद्योग बाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिएकी घिमिरेलाई आफ्नो उम्मेद्वारीनै धरासायी हुने अवस्था आएपछि क्यान महासंघको अध्यक्ष पदबाट राजीनामा दिएको त्यस समयमा टेक्नोलोजीखबरले समाचार प्रकाशित गरेको थियो।

वर्तमान अधिकारी तत्कालिन अध्यक्ष सुनैना घिमिरे पाण्डेको पक्षबाट वरिष्ठ उपाध्यक्ष भएका थिए। उनलाई क्यान महासंघको दैनिक क्रियाकलाप संचालन गर्ने तथा आगामी साधारण सभा र नयाँ निर्वाचन गराउने मात्र म्यान्डेट दिईएको बताईएको छ।

प्रकाशित: १ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार