क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीद्वारा महासचिवविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी

  • Technology Khabar | ३१ भाद्र २०८३, बुधबार
क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीद्वारा महासचिवविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी
क्यान महासंघको मुख्य कार्यालय। फाइल तस्विर।

काठमाडौं ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले महासचिव चन्द्रविलास भुर्तेलविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।

अधिकारीले भुर्तेललाई आवश्यक कारबाहीका लागि निवेदन दर्ता गराएको उनले जानकारी दिएका छन्।

कार्यवाहक अध्यक्ष अधिकारीले निवेदनमा महासचिव भुर्तेलले विधानको दफा २८ ले तोकेका काम, कर्तव्य र अधिकारभन्दा बाहिर गई महासंघको आधिकारिक इमेल खाता, संस्थागत संरचना, सदस्य अभिलेख, ASOCIO/WITSA सम्बन्धी पत्राचार तथा वित्तीय अभिलेखहरू अन्य पदाधिकारी र स्वयं कार्यवाहक अध्यक्षलाई जानकारी नै नदिई एकलौटी कब्जा गरी दुरुपयोग गरेको दाबीसमेत गरेका छन्।

पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि साउन १५ गते नेपाल प्रहरी साइबर ब्युरो काठमाडौंमा पनि निवेदन दर्ता गराएका छन्। ब्यूरोले पनि आवश्यक विवरण समेत माग गरिसकेको अधिकारीको दाबी छ।

अधिकारीले (मिडियालाई पठाएको सूचनामार्फत) उनले पेश गरेको निवेदनमा भनिएको छ ”महासचिवले दर्ता-चलानी किताब र माइन्युट बुक समेत आफ्नो कब्जामा लिएका छन् । इमेल आउने तर पठाउन नमिल्ने अवस्था सिर्जना गरी अन्य निर्वाचित पदाधिकारीहरूलाई संस्थाको आधिकारिक इमेलबाट पत्राचार गर्नबाट वञ्चित गराएका छन्। केन्द्रीय कार्यसमितिको स्वीकृतिबिना व्यक्तिगत इमेल प्रयोग गरी अन्तर्राष्ट्रिय निकायसँग पत्राचार गर्ने, लेटरहेड, लोगो, छाप र डिजिटल पहिचानको दुरुपयोग गर्ने जस्ता कार्य भइरहेको छ।”

भदौ ४ गते बेलुकी ८ बजे कार्यवाहक अध्यक्ष अधिकारीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा महासचिवले अवरोध पुर्याई भाँडभैलो मच्चाएको, कर्मचारीलाई आफूखुशी बिदा दिई कार्यालय बन्द गराएको तथा दर्ता-चलानी र निर्णय पुस्तिका झोलामा बोकेर हिँडेको समेत निवेदनमा उल्लेख गरिएको बताईएको छ। कार्यसमितिको बहुमत सदस्य उपस्थित बैठकले स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको र संस्था पूर्ण रूपमा कब्जा गर्ने प्रयास गरेको आरोप लगाइएको भनिएको छ।

संस्था दर्ता ऐन, २०३४ को दफा ६ तथा महासंघको विधान २०७० (तेस्रो संशोधनसहित) को दफा २८ प्रतिकूलका क्रियाकलाप भएकाले महासचिवलाई यथाशीघ्र कार्यालयमा उपस्थित गराई आवश्यक कारबाही गरिपाउन माग गरेका छन् ।

निवेदनमा संस्था दर्ता प्रमाणपत्र, विधान, नागरिकता, इमेल तथा ह्वाट्सएप सन्देशका प्रतिलिपिहरू संलग्न गरिएका छन्।

महासंघको ३१ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशन २०८१ पुस १३ गते काठमाडौंमा सम्पन्न भएको थियो। उक्त महाधिवेशनबाट सुनैना घिमिरे पाण्डे अध्यक्ष, चिरञ्जीवी अधिकारी वरिष्ठ उपाध्यक्ष र चन्द्रविलास भुर्तेल महासचिव निर्वाचित भएका थिए।

अध्यक्ष पाण्डेले २०८३ वैशाख ३० गते राजीनामा दिएपछि विधानको दफा २६ को उपदफा ६ बमोजिम वरिष्ठ उपाध्यक्ष अधिकारी कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छन् । उनी २०८३ जेठ ३ गते बसेको कार्यसमिति बैठकले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेजारी दिएको हो।

प्रकाशित: ३१ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार