काठमाडौं ।
अल्फाबेटको गुगलले आगामी दुई वर्षमा फिनल्यान्डमा कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारमा कम्तीमा १३ अर्ब युरो (१५.१ अर्ब डलर) लगानी गर्ने भएको छ। कम्पनीले अमेरिकाबाहिर पहिलोपटक आणविक ऊर्जा खरिदसम्बन्धी सम्झौता पनि गरेको बुधबार जनाएको छ।
फिनल्यान्डको यो सम्झौतामा त्यहाँ रहेका दुई आणविक ऊर्जा केन्द्रमध्ये एउटा केन्द्रबाट उत्पादन हुने ऊर्जाको ५० प्रतिशतसम्म खरिद गर्ने २२ वर्षको सम्झौता समावेश छ। ऊर्जा केन्द्र सञ्चालक फोर्टमले छुट्टै विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो।
रोयटर्सका अनुसार ठूलो मात्रामा कम–कार्बन ऊर्जा उपलब्ध हुने भएकाले फिनल्यान्ड माइक्रोसफ्ट, टिकटकको मालिक बाइटडान्स र गुगलजस्ता कम्पनीका लागि आकर्षक बनेको छ। यी कम्पनीहरूले ऊर्जा लागत नियन्त्रण गर्दै जलवायु लक्ष्य पूरा गर्न डेटा सेन्टर स्थापनाका लागि स्थान खोजिरहेका छन्।
“यो अमेरिकाबाहिर गुगलको पहिलो आणविक ऊर्जा सम्झौता हो। हामीले यहाँ गरिरहेका सबै कामका लागि यो निकै महत्वपूर्ण आधार हो भन्ने हाम्रो विश्वास छ,” गुगलकी प्रमुख लगानी अधिकृत रुथ पोराटले हेलसिन्कीमा पत्रकारहरूसँग भनिन्।
फोर्टम र गुगलले फिनल्यान्डमा नयाँ आणविक तथा नवीकरणीय ऊर्जा विकास गर्ने सम्भावनाबारे पनि अध्ययन गर्ने भएका छन्। यस समाचारपछि फोर्टमको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको थियो, जबकि हेलसिन्कीको मुख्य सेयर सूचकांक १.४ प्रतिशत मात्र बढेको थियो।
यूरोपमा अहिलेसम्मकै ठूलो सम्झौता
बढ्दो कम्प्युटिङ माग पूरा गर्ने प्रयासमा अल्फाबेटले यस वर्ष आफ्नो विश्वव्यापी लगानी बढाएर १९५ अर्बदेखि २०५ अर्ब डलरसम्म पुर्याएको छ। गुगलका अनुसार फिनल्यान्डमा गरिएको एआई पूर्वाधारसम्बन्धी लगानी युरोपमा कम्पनीको अहिलेसम्मकै ठूलो लगानी हो।
गुगलका अनुसार लगानीअन्तर्गत डाटा सेन्टर, विद्युत् ग्रिड सुधार तथा स्वच्छ ऊर्जा र ब्याट्रीसम्बन्धी परियोजना सञ्चालन गरिनेछ। यी पूर्वाधारले जेमिनी, सर्च, म्याप्स र यूट्युब लगायतका सेवाका लागि आवश्यक क्षमता उपलब्ध गराउनेछन्।
“नयाँ डिजिटल पूर्वाधारले फिनल्यान्ड र समग्र युरोपको डिजिटल तयारी, नवप्रवर्तन र एआई विकासका लागि आधार तयार गर्नेछ,” कम्पनीले विज्ञप्तिमा भनेको छ।
सन् २०२७ र २०२८ मा गरिने यो लगानीले निर्माण अवधिमा फिनल्यान्डको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ३.६ अर्ब डलर योगदान गर्ने गुगलले जनाएको छ। परियोजना सञ्चालनमा आएपछि प्रत्येक वर्ष करिब ७ हजार रोजगारीलाई सहयोग गर्ने अनुमान गरिएको छ।
फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोले गुगलको निर्णयलाई “फिनल्यान्डको क्षमताको स्पष्ट प्रमाण” भएको बताएका छन्।
“डेटा अर्थतन्त्रको मूल्य प्रत्यक्ष लगानीभन्दा धेरै परसम्म पुग्छ र यसले नवप्रवर्तन, अनुसन्धान तथा विकासलाई पनि अघि बढाउँछ,” उनले भने।
ऊर्जा कम्पनी फोर्टमले लामो अवधिको ऊर्जा खरिद सम्झौताले लोभिसा आणविक ऊर्जा केन्द्रलाई सन् २०५० सम्म सञ्चालन गर्न आयु विस्तार र स्तरोन्नति गर्ने योजनाका लागि आर्थिक निश्चितता प्रदान गर्ने जनाएको छ। यो ऊर्जा केन्द्र गुगलको हामिना डाटा सेन्टरनजिकै रहेको छ।
ठूलो मात्रामा कम उत्सर्जन हुने ऊर्जा उपलब्ध हुनुका साथै फिनल्यान्डको चिसो मौसमले पनि डेटा सेन्टर सञ्चालन लागत घटाउन सहयोग गर्छ। चिसो मौसमका कारण डेटा सेन्टरबाट उत्पन्न हुने ताप नियन्त्रण गर्न कम ऊर्जा आवश्यक पर्छ।
प्रकाशित: २५ भाद्र २०८३, बिहीबार