काठमाडौं ।
एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।
इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईसीएएनएन) सँगको सहकार्यमा आयोजना गरेको एपिगा नेपाल २०२६ नेपालमा आयोजना गरिएको तेस्रो संस्करण हो।
कार्यक्रममा युवा सहभागीहरूलाई इन्टरनेट गभर्नेन्स, डिजिटल नीति, बहु–सरोकारवाला मोडल तथा क्षेत्रीय र विश्वव्यापी इन्टरनेट नीति निर्माण प्रक्रियाबारे ज्ञान, सीप र व्यावहारिक अनुभव प्रदान गरिएको थियो ।
एपिगा कार्यक्रमले एसिया प्यासिफिक क्षेत्रका युवाहरूलाई इन्टरनेट गभर्नेन्सको बहु–सरोकारवाला प्रक्रियाबारे बुझ्न, क्षेत्रीय तथा विश्वव्यापी छलफलमा सहभागी हुन र भविष्यका डिजिटल नेतृत्वका लागि आवश्यक ज्ञान तथा सीप विकास गर्न अवसर प्रदान गर्दै आएको छ।
उद्घाटन समारोहमा एसिया–ओसिनिया कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनका उपाध्यक्ष नवराज कुँवरले क्षेत्रीय तथा विश्वव्यापी इंटरनेट गवर्नेंस प्रक्रियामा नेपालको सहभागिता र डिजिटल क्षेत्रमा सहकार्यको महत्वबारे प्रकाश पारेका थिए।
एपिगा नेपाल २०२६ ले युवा सहभागीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी समूहगत छलफल, प्रश्नोत्तर, प्रस्तुति, नीति बहस तथा व्यावहारिक अभ्यास मार्फत आफ्ना विचार राख्ने र नेतृत्व क्षमता विकास गर्ने अवसर प्रदान गरेको थियो।
कार्यक्रमले सहभागीहरूलाई नेपालको डिजिटल भविष्य, इन्टरनेटको खुलापन, सुरक्षा, समावेशिता र पहुँचका विषयमा थप जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको छ।
एपिगा नेपाल २०२६ का माध्यमबाट नेपालमा इन्टरनेट गभर्नेन्स युथ क्म्युनिटिलाई थप सुदृढ गर्ने, युवाहरूलाई राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी डिजिटल नीति छलफलमा जोड्ने र नेपालको इन्टरनेट गभर्नेन्स इकोसिस्टममा नयाँ पुस्ताको सहभागिता बढाउने उद्देश्यमा महत्वपूर्ण पुगेको आयोजक क्यान महासंघले जनाएको छ।
प्रकाशित: २४ भाद्र २०८३, बुधबार