काठमाडौं ।
घाम पावर नेपालले नेपालमा पहिलोपटक सोल्युबल लिड फ्लो ब्याट्री (एसएलएफबी) प्रविधिको सार्वजनिक प्रदर्शन गरेको छ। एसएलएफबी नेपालकै लागि विकास तथा प्रदर्शन भइरहेको उदीयमान ऊर्जा भण्डारण प्रविधि हो।
युनिभर्सिटी अफ साउथह्याम्पटनका प्रोफेसर रिचर्ड विल्सले प्रत्यक्ष प्रदर्शनमार्फत पत्रकार तथा ऊर्जा क्षेत्रका प्रतिनिधिहरूलाई ब्याट्रीले कसरी काम गर्छ र यसको निर्माण प्रक्रिया कस्तो हुन्छ भन्ने जानकारी दिएका थिए।
प्रयोग भइसकेका ब्याट्रीबाट पुनःप्राप्त गरिएको लिडलाई विद्युत् भण्डारणको मुख्य सामग्रीका रूपमा प्रयोग गरी त्यसलाई पुनः उपयोग गर्ने अवधारणामा एसएलएफबी प्रविधि आधारित छ। यसले सौर्य तथा जलविद्युत्बाट उत्पादित ऊर्जा भण्डारण गर्ने वैकल्पिक माध्यमका रूपमा काम गर्न सक्छ।
नेपालमा नवीकरणीय ऊर्जाको क्षमता विस्तार हुँदै जाँदा भरपर्दो ऊर्जा भण्डारणको आवश्यकता पनि बढ्दै गएको छ। यस्तो अवस्थामा एसएलएफबीले नवीकरणीय ऊर्जा प्रणालीमा सहज एकीकरण तथा लामो अवधिका लागि स्थिर ऊर्जा भण्डारणको आवश्यकता पूरा गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
प्रदर्शनका क्रममा प्रोफेसर विल्सले ब्याट्री कसरी चार्ज र डिस्चार्ज हुन्छ भन्ने प्रक्रिया प्रत्यक्ष रूपमा देखाएका थिए। उनले इलेक्ट्रोडमा लिड कसरी जम्मा हुन्छ र पुनः कसरी हट्छ भन्नेबारे पनि स्पष्ट पारे। सहभागीहरूले फ्लो ब्याट्री प्रविधिलाई नजिकबाट अवलोकन गर्नुका साथै अनुसन्धानकर्तासँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने अवसरसमेत पाएका थिए।
एसएलएफबी प्रविधिको विकास घाम पावर, युनिभर्सिटी अफ साउथह्याम्पटन सोलिड इनर्जी र स्वानबर्टनबीचको सहकार्यमा भइरहेको छ। यो सहकार्यले अन्तर्राष्ट्रिय अनुसन्धान विशेषज्ञता र स्थानीय ज्ञानलाई एकसाथ ल्याउँदै प्रविधिलाई नेपालको आवश्यकता र परिस्थितिअनुसार अनुकूलन गर्ने लक्ष्य राखेको छ।
नेपालले स्वच्छ ऊर्जा क्षेत्रको विस्तारलाई प्राथमिकता दिइरहेका बेला एसएलएफबीले नेपालमै उपलब्ध स्रोत र आवश्यकतासँग मेल खाने पुनःप्रयोगमा आधारित ऊर्जा भण्डारण समाधान उपलब्ध गराउने अपेक्षा गरिएको छ।
प्रकाशित: २४ भाद्र २०८३, बुधबार