काठमाडौं ।
भोटेकोशी नदीमा आएको भीषण बाढीपछि अवरुद्ध दूरसञ्चार सेवा पुनःस्थापनाका लागि ह्वावे नेपालद्वारा सञ्चालित अभियानअन्तर्गत ३४ वटा साइट पुनः सञ्चालनमा ल्याइएको छ। यो हिजो ७२ घण्टा अर्थात् हिजो भदौ १४ गतेसम्मको प्रगतिको आँकडा हो।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा नेपाल टेलिकम र एनसेलका गरी ७८ साइट प्रभावित भएका थिए। यी दुवै संस्थाका प्राविधिक पूर्वाधार ह्वावे नेपालद्वारा निर्माण गरिएकाले संस्थाले आवश्यक तदारुकता देखाएको हो।
प्रभावितमध्ये नेपाल टेलिकमका ५० र एनसेलका २८ साइट रहेका थिए। बाढी तथा पहिरोले करिब २० भन्दा बढी फाइबर रुटमा क्षति पुर्याउनुका साथै ३० भन्दा बढी साइटमा इन्धन तथा सामग्री आपूर्ति शृङ्खला अवरुद्ध भएको प्रतिवेदनमा उल्लेख छ। प्रभावित क्षेत्रमा १५० भन्दा बढी सेलमा नेटवर्क कन्जेसन देखिँदा कल गर्नसमेत कठिनाइ भएको थियो।
प्रतिवेदनअनुसार पुनःस्थापित ३४ साइटमध्ये नेपाल टेलिकम र एनसेलका १० वटा महत्त्वपूर्ण साइटसमेत रहेका छन्। त्यस्तै, २० भन्दा बढी फाइबर लिंक पुनःस्थापना गरिएको छ। २० वटा ब्याट्री बैंक, २०० लिटर इन्धन, १० भन्दा बढी बीटीएस उपकरणलगायत आवश्यक सामग्री परिचालन गरिएको थियो।
पुनःस्थापनासँगै नेटवर्कको क्षमता तथा कभरेज अनुकूलनसमेत गरिएको छ। प्रतिवेदनमा कल सेटअप सफलता दर ९७ प्रतिशतभन्दा माथि पुगेको उल्लेख छ। तर अझै ४४ साइट पुनःस्थापना गर्न बाँकी रहेको जनाइएको छ, जसमा नेपाल टेलिकमका ३८ र एनसेलका ६ साइट छन्।
दुर्गम हिमाली क्षेत्रमा अत्यावश्यक साइट पुनः सञ्चालनका लागि हवाई उद्धार तथा सामग्री ढुवानीसमेत गरिएको छ। ह्वावेका प्राविधिक विज्ञ तथा प्राविधिक टोलीलाई हवाईमार्गबाट परिचालन गरी माइक्रोवेभ, एमडीजी र ब्याट्री लगायतका उपकरण प्रभावित साइटमा पुर्याइएको प्रतिवेदनमा उल्लेख छ। यी उपकरण र प्राविधिमा ह्वावे मेरुदण्डका रुपमा उभिएको छ।
अब बाँकी ४४ साइट पुनःस्थापनाका लागि कार्ययोजना तयार गरिएको छ। पहिलो प्राथमिकतामा तीन साइटमा एमडीजी हवाई ढुवानी गरी सेवा सञ्चालन गर्ने र नौ साइटमा फाइबर लिंक पुनःस्थापना गर्ने ह्वावे नेपालको योजना छ।
पुनःस्थापित साइटको सेवा निरन्तरता र स्थायित्व सुनिश्चित गर्न थप पाँच फिल्ड टोली, २५ भन्दा बढी जनशक्ति र पाँच वटा सवारी साधन तयारी अवस्थामा राखिने कम्पनीले जनाएको छ।
प्रभावित क्षेत्रका साइटमा २४ घण्टा निगरानी गरी नेटवर्क अवस्था, सेवा र अलार्मको निरन्तर अनुगमन तथा पुनःस्थापना प्रगतिको नियमित रिपोर्टिङ गरिने योजना पनि अघि सारिएको छ।
प्रतिवेदनमा विपद्को अवस्थामा नेटवर्क सेवा निरन्तरता कायम राख्न मानव सुरक्षा तथा फिल्डमा खटिने जनशक्तिको स्वास्थ्य र सुरक्षालाई समेत प्राथमिकतामा राखिएको जनाइएको छ।
प्रकाशित: १५ भाद्र २०८३, सोमबार