काठमाडौं ।
रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट नेपाल भित्रिएर भन्सार यार्डमा रहेका र बाटोमा रहेका सयौं गाडीहरु समेत बगाएको अनुमान गरिएको छ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाकाअनुसार भन्सारमा रहेका र बाटोमा रहेका सयौं गाडीहरु बगाएको अनुमान गरिएको छ।
कान्तिपुर डटकमले आफ्नो आधिकारिक एक्स ह्याण्डलमा राखेको एक पोस्टको अडियो कुराकानीमा ढुङ्गानाले यार्डमा मात्रै ३ सय ईभी र ट्रकहरु रहेकोमा अहिले त्यो केहि पनि नरहेको बताएका छन्।
उनले भन्सार कार्यालयसहितका संरचनाहरुसमेत बगाएको बताएका छन्।
“यार्डै छैन्। गाडीको नाम निशाना नै छैन्। गाडी त ३/४ सय थिए,” उनले भनेका छन्, “भन्सार छुटाउन ल्याएका नयाँ गाडीहरु थिए।”
त्यस बाहेक बाटोभरी गाडीहरु रहेको तर त्यसको अवस्था बारे जानकारी नभएको उनले जानकारी दिएका छन्।
यस्तै दुई अटो व्यवसायीहरुले पनि नाडा अटो शोमा देखाउनका लागि ल्याउन लागिएको गाडीसमेत बगाएको बताएका छन्। उनीहरुले केहि गाडी चालकहरु समेत सम्पर्कमा नभएको जानकारी दिए।
“हाम्रो गाडी नाडामा नै देखाउन ल्याउने भनेर भन्सारमा ल्याईसकेका थियौं तर केहि गाडीहरु बगाएको जानकारी पाएका छौं,” उनले भने।
यस्तै अर्का एक अटो व्यवसायीले पनि चीनबाट आयात गरेर बाटोमा आउँदै गर्दा गाडी बगाएको जानकारी पाएको बताए।
“हाम्रो गाडी बुकिङ्ग गरेका सबै ग्राहकहरुलाई दिने भनेर योजना गरेका थियौं, तर आउँदै गरेका गाडीहरु बगाएको छ,” उनले भने, “अब के गर्ने भन्ने अहिले सोचेका छैनौं।”
उक्त आकस्मिक बाढीले ठूलो धनजनको क्षति गरेको अनुमान गरिएको छ भने सुरक्षा निकायले उद्धारको कार्य गरिरहेको छ।
प्रकाशित: १० भाद्र २०८३, बुधबार