काठमाडौं ।
बोलिभियाको दूरसञ्चार कम्पनी भाइभा ले ओपन र्यान, ओएसएस, क्लाउड रूपान्तरण र एआईको प्रयोग विस्तारका लागि राकुटेनलाई छनोट गरेको छ।
हस्ताक्षर गरिएको समझदारीपत्र अन्तर्गत टोकियोस्थित कम्पनीले भाइभा लाई पाँच क्षेत्रमा सम्भावनाको मूल्यांकन गर्न सहयोग गर्नेछ। यसमा ओपन र्यान, अपरेटिङ सपोर्ट सिस्टम (ओएसएस), क्लाउड पूर्वाधार, व्यावसायिक सेवा र एआईमा आधारित डिजिटल प्लेटफर्म रहेका छन्।
यसका लागि चरणबद्ध रणनीतिक सहकार्य गरिनेछ। यसअघि नै कार्यकारी तथा प्राविधिक योजनासम्बन्धी प्रारम्भिक रोडम्याप बैठक भइसकेको छ।
टेलिकम्स डटकमका अनुसार अब कम्पनीहरूको ध्यान भाइभाका नेटवर्क सञ्चालनलाई सरल बनाउन सहयोग गर्ने क्लाउड–नेटिभ प्रविधिको मूल्यांकनमा केन्द्रित हुनेछ। साथै, बोलिभियामा भाइभा का ग्राहकहरूका लागि डिजिटल सेवाको विस्तार गर्न नयाँ अवसरहरू पनि पहिचान गरिनेछ।
यस सहकार्यको उद्देश्य दूरसञ्चार कम्पनीलाई नयाँ प्रविधिको विकास तीव्र बनाउन, ग्राहक अनुभव सुधार गर्न र डिजिटल इकोसिस्टम सेवाबाट आम्दानी बढाउने नयाँ बाटो खोल्न सहयोग गर्नु हो।
राकुटेनका अध्यक्ष शरद श्रीवास्तवले भने, “अपरेटरहरू नेटवर्क आधुनिकीकरणभन्दा अगाडि बढेर नयाँ सेवा, राम्रो ग्राहक अनुभव र दिगो व्यावसायिक वृद्धिलाई सहयोग गर्ने थप चुस्त प्लेटफर्म निर्माणतर्फ अघि बढिरहेका छन्।
क्लाउड–नेटिभ नेटवर्क र एआईमा आधारित सञ्चालनसँगै भाइभा ले अझ छिटो नयाँ प्रयोग गर्न सक्ने लचकता प्राप्त गर्नेछ र आगामी पुस्ताका डिजिटल सेवा उपलब्ध गराउन सक्ने प्लेटफर्म पाउनेछ।”
भाइभा बोलिभियाका प्रमुख कार्यकारी अधिकृत रायन अल्भारेजले भने, “बोलिभियामा हाम्रो नेटवर्कको आधुनिकीकरण एउटा मात्र परियोजना होइन, यो ठूलो यात्राको आधार हो। भाइभा यस्तो डिजिटल इकोसिस्टममा विकसित भइरहेको छ, जहाँ कनेक्टिभिटी, वाणिज्य, भुक्तानी र व्यक्तिगत सेवाहरू ग्राहकका लागि एउटै अनुभवमा जोडिन्छन्। राकुटेन सँगको सहकार्यले हामीलाई नयाँ सेवा छिटो सुरु गर्न, ग्राहक अनुभव सुधार गर्न र अझ प्रभावकारी रूपमा सञ्चालन गर्न क्लाउड–नेटिभ प्लेटफर्म उपलब्ध गराउनेछ। अनलाइन सेवाबाट मोबाइल क्षेत्रमा राकुटेनको आफ्नै यात्रा हामीले सफल भएको उदाहरणका रूपमा बुझेका छौं।”
हालको सहकार्यको दायराभन्दा बाहिर पनि टोकियोस्थित कम्पनी र भाइभाले डिजिटल प्लेटफर्म, ग्राहकसँगको सम्बन्ध, डिजिटल वाणिज्य र एआईमा आधारित नयाँ सेवाका क्षेत्रमा थप अवसरहरू खोजी गर्नेछन्।
प्रकाशित: १० भाद्र २०८३, बुधबार