टेलिफोनिकाले स्मार्ट ग्रामीण भिडियो निगरानी प्रणाली विस्तार गर्दै

  • Technology Khabar | १० भाद्र २०८३, बुधबार
टेलिफोनिकाले स्मार्ट ग्रामीण भिडियो निगरानी प्रणाली विस्तार गर्दै
फाइल तस्बिर

काठमाडौं ।

टेलिफोनिकाले स्पेनको ग्वाडालाहारा प्रान्तीय परिषद्का लागि स्पेनकै पहिलो व्यापक स्मार्ट ग्रामीण भिडियो निगरानी परियोजना निर्माण गरिरहेको जनाएको छ।

परियोजनाको उद्देश्य प्रान्तीय सडक सञ्जाल र नगरपालिकाका प्रवेश बिन्दुमा सुरक्षा बढाउनु रहेको कम्पनीले जनाएको छ।

परियोजनाअन्तर्गत विभिन्न कम्पनीका उपकरणलाई समेट्ने केन्द्रीय प्लेटफर्म निर्माण गरिनेछ। साथै, प्रान्तभर ३५० वटा आपसमा जोडिएका भिडियो निगरानी केन्द्र स्थापना गरिनेछन्।

प्रत्येक स्थानमा दुईवटा क्यामरा जडान गरिनेछन्। तीमध्ये एउटा निरन्तर निगरानीका लागि ‘स्फेरिकल डोम’ क्यामरा हुनेछ भने अर्को अप्टिकल क्यारेक्टर रिकग्निसन (ओसीआर) प्रविधिबाट सवारीसाधनका नम्बर प्लेट पढ्न सक्ने उच्च रिजोल्युसन क्यामेरा हुनेछ।

क्यामेरालाई राउटरमार्फत फोरजी र फाइभजी नेटवर्कमा जोडिनेछ। सम्झौताअन्तर्गत डाटा भण्डारण व्यवस्थापन तथा डाटा र प्रक्रियालाई अपरेटरको टेक्नोअल्कालास्थित क्लाउड वातावरणमा एकीकृत गर्ने काम पनि समावेश छ।

टेलिकम्स डटकमका अनुसार सिभिल गार्डले भिडियो निगरानी केन्द्रमा रहेका दुवै क्यामरा र तस्बिर भण्डारण प्लेटफर्ममा पहुँच पाउनेछ। स्थानीय क्षेत्रमा अपराध भएको अवस्थामा घटनामा संलग्न हुन सक्ने सवारीसाधनको गतिविधि अनुसन्धान गर्न यसले सहयोग गर्नेछ।

ग्वाडालाहारा स्पेनमा यस्तो प्रान्तीय सुरक्षा सञ्जाल सञ्चालन गर्ने पहिलो प्रान्त हुनेछ। टेलिफोनिकाका अनुसार यो सञ्जाल ‘थप एकरूप र प्रभावकारी’ हुनेछ र नगर परिषद्, स्थानीय निकाय तथा कन्सोर्टियमले पनि प्रयोग गर्न सक्नेछन्।

टेलिफोनिका एम्प्रेसासका रक्षा तथा सुरक्षा निर्देशक जेभियर लोपेज गुटियरेजले भने, “हाम्रो नेटवर्कको उन्नत क्षमताका कारण हामीले नयाँ प्रविधिको प्रयोग गर्दै एउटा अग्रणी समाधान सुरु गर्न सकेका छौँ, जसले एउटै केन्द्रीय बिन्दुबाट सम्पूर्ण क्षेत्रमा कभरेज प्रदान गर्ने पूर्वाधार निर्माण गर्न सक्षम बनाउँछ।”

उनका अनुसार यो समाधानलाई भविष्यमा थप नगरपालिकामा विस्तार गर्न र नयाँ सुविधाहरू थप्न सकिनेछ। उच्च माग हुने अवस्थामा निगरानीलाई थप प्रभावकारी बनाउन नेटवर्क स्लाइसिङजस्ता प्रविधि प्रयोग गर्न सकिनेछ। लोकप्रिय उत्सवका समयमा पनि यस्तो प्रविधि उपयोगी हुनेछ। साथै, सहरी क्षेत्रभन्दा टाढाका स्थानमा प्रहरी टोली परिचालन नगरी निगरानी गर्न सकिने भएकाले यो थप दिगो हुने उनले बताए।

जुनमा टेलिफोनिकाले एस्टेरियन इन्डस्ट्रियल पार्टनर्सबाट ग्रामीण माइक्रोवेभ ब्याकहलिङ प्लेटफर्म लाइनओएक्स खरिद गरेको थियो। करिब ६ वर्षअघि टेलिफोनिकाले यही व्यवसाय लगानी समूहलाई बेचेको थियो। उक्त सम्झौताले आफ्नो घरेलु बजारमा ‘रणनीतिक नेटवर्क क्षमता’माथि नियन्त्रण कायम गर्न सहयोग गर्ने टेलिफोनिकाले जनाएको थियो।

प्रकाशित: १० भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...