इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानी प्रदायक संस्था

  • Technology Khabar | ५ भाद्र २०८३, शुक्रबार
इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानी प्रदायक संस्था

काठमाडौं ।

भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (पीसीआई डीएसएस भी४.०.१) को मान्यता प्राप्त गरेको छ।

कार्ड डाटा सुरक्षासम्बन्धी विभिन्न विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवाले उक्त मान्यता प्राप्त गरेको हो।

कम्पनीका अनुसार यस मान्यताले इसेवामार्फत गरिएका सबै कारोबारहरू सुरक्षित रहेका छन् र भुक्तानी गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिबद्ध छ भन्ने थप प्रमाणित गरेको छ।

‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ भुक्तानी कार्डको डाटा सुरक्षाका लागि स्थापित विश्वव्यापी मान्यता प्राप्त सुरक्षा मापदण्ड हो, यसको विकास र सञ्चालन विश्व प्रसिद्ध फोरम पिसिआई सुरक्षा मापदण्ड परिषद्‌ले गर्दै आएको छ। यसअन्तर्गत सुरक्षित नेटवर्क तथा प्रणाली निर्माण, डाटा सुरक्षा, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन, नियमित परीक्षण तथा निगरानी र सूचना सुरक्षा नीति जस्ता सुरक्षा मापदण्डहरू रहेका छन् । इसेवाले भुक्तानी डाटा सुरक्षा सम्बन्धी यिनै मापदण्डहरू पूरा गर्दै ‘पीसीआई डिएसएस’ को मान्यता प्राप्त गरेको हो।

इसेवाका प्रमुख प्रविधि अधिकृत विपिन खनालले ‘पीसीआई डिएसएस’ को प्रमाणीकरणले प्रयोगकर्ताहरूको डाटा सुरक्षाप्रति इसेवाको प्रतिबद्धतालाई थप पुष्टि गरेको बताए।

‘यस प्रमाणीकरणले इसेवाको समग्र डाटा सुरक्षा तथा प्रयोगकर्ताको विश्वासप्रतिको हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएको छ।’ खनालले भने, ‘हामी अन्तर्राष्ट्रिय रूपमा स्थापित सुरक्षा मापदण्ड तथा उत्कृष्ट अभ्यासअनुसार हाम्रो प्रणाली तथा प्रक्रियालाई निरन्तर स्तरवृद्धि गर्दै जानेछौं।’

प्रयोगकर्ताको वित्तीय तथा व्यक्तिगत जानकारीको सुरक्षालाई केन्द्रविन्दुमा राखी सेवा प्रदान गर्दै आएको इसेवाले जनाएको छ। कम्पनीले सुरक्षित डिजिटल भुक्तानीका लागि प्राविधिक सुरक्षा पूर्वाधारसँगै प्रणालीको नियमित निगरानी, जोखिम पहिचान, सुरक्षा परीक्षण, पहुँच नियन्त्रण जस्ता सुरक्षा अभ्यासलाई निरन्तर सुदृढ गर्दै आएको छ।

पीसीआई डिएसएसको मान्यता प्राप्त हुनु इसेवाको सुरक्षित, विश्वसनीय र जिम्मेवार डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण कोसेढुङ्‌गाका रूपमा रहेको कम्पनीले जनाएको छ।

साथै, इसेवा आइएसओरआइसी २७००१ः२०२२ प्रमाणित संस्था पनि हो। यस अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणीकरणले इसेवाका सम्पूर्ण प्रणाली र सञ्चालनहरूमा सूचना सुरक्षा जोखिमहरूको निरन्तर पहिचान, व्यवस्थापन र सुधार सुनिश्चित गर्दछ।

इसेवाले आगामी दिनमा पनि प्रयोगकर्ताको डाटा तथा कारोबारको सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुरूप आफ्ना प्रणाली, प्रक्रिया र सुरक्षा अभ्यासलाई निरन्तर सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: ५ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×