काठमाडौं ।
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राऊ परेका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारीलाई बयानका लागि आज पनि अदालतमा पेश गरिएको छ।
गत साउन १४ गते बिहिबार बेलुका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पक्राऊमा परेका भण्डारीलाई अदालतले त्यसबेला ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
तीन दिनको म्याद सकिएपछि जिल्ला अदालतमा पेश गरिएका उनलाई मुद्दाको प्रकृति हेरेर साउन २० गते थप ६ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो। त्यसपछि पुन १ दिन म्याद थप गरेर हिजो बिहीबार बयानका लागि पेश गरिएका भण्डारीको बयान नसकिएकाले आज पनि पेश गरिएको छ।
सम्बन्धित समाचार
यस सम्बन्धमा प्रस्ट्याउँदै सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक अनुपम शमशेर ज.ब.रा. ले टेक्नोलोजी खबरलाई भने, ‘उहाँलाई बयानका लागि हिजो पेश गरिएकव थियो। हिजो बयान नसकिएका कारण हामीकहाँ बाटै आज पुन: अदालतमा पेश गरिएको छ। आदेश के आउँछ त्यो कुर्नुपर्ने हुन्छ।’
२२ प्रतिवादीमध्ये भुपेन्द्र भण्डारीबाहेक बाँकी सबै २१ जना अदालतमा उपस्थित भएका छैनन्। २१ जनामध्ये ५ जना अनुपस्थित र १६ जना फरारको सूचीका रहेका छन्।
प्रवक्ता जबराका अनुसार अनुपस्थित प्रतिवादीहरु आफ्नै पहलमा उपस्थित हुनुपर्नेछ भने फरारहरुका बारेमा जानकारी प्राप्त भएमा सीआईबीले अदालतमा उपस्थित गराउनेछ, नत्र उनीहरु आफैं अदालतमा उपस्थित हुनेछन्।
सीआईबीको थुनामा रहेका उनीमाथि सरकारको अधिनमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति बैंकिङ्ग लिलामी गराउन सहयोग गरेको आरोप छ।
सम्बन्धित समाचार
दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारीलाई थप ६ दिन थुनामा राख्न अदालतको अनुमति
स्मार्ट टेलिकमको अनुमतिपत्र २०८० वैशाख २ गतेदेखि स्वतः रद्द भएपछि अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल समेतको सम्पत्ति नेपाल सरकार/नेपाल दूरसञ्चार प्राधिकरणको नाममा आएको थियो।
सीआईबीकाअनुसार, सो सम्पत्ति नेपाल इन्भेष्टमेन्ट मेगा लिमिटेड र एनसेल आजियाटा लिमिटेडको मिलेमतोमा गैर कानूनी रुपमा लिलाम गरी गराई एनसेल आजीयाटा लि. ले प्राप्त गरी नेपाल सरकार/दूरसञ्चार प्राधिकरणको हक हनन गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १०३ विपरित हुने गरी गैर कानूनी रुपमा लिलामी गरी ठगी, अपराधिक विश्वासधात तथा संगठित अपराध मुद्दाको अनुसन्धानको सिलसिलामा भण्डारीलाई साउन १४ गते पक्राऊ गरेर अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार