काठमाडौं ।
यूरोपेली संघ (ईयू) ले आईरिस२ स्याटेलाइट कार्यक्रमको क्षमता विस्तार गर्न थप स्याटेलाइट र बजेट थपेको छ।
यससँगै महत्त्वपूर्ण सञ्चार सेवा सञ्चालन गर्ने क्षमता बढाउने र कार्यक्रमको प्रक्षेपण समय अगाडि सार्ने तयारी गरिएको छ। महिनौँको वार्तापछि यूरोपेली आयोगले स्याटेलाइट सञ्चालक एसईएस, ईयूटेलस्याट र हिस्पास्याट रहेको स्पेसराइज कन्सोर्टियमसँग आईरिस२ को तैनाथीसम्बन्धी कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेको छ।
सबैभन्दा ठूलो परिवर्तन आईरिस२ मा रहने स्याटेलाइटको संख्या ६६ ले बढाएर कुल ३४८ पुर्याउनु हो। थप स्याटेलाइटले पृथ्वीको निम्न कक्षा (एलईओ) मा रहने नेटवर्कको हिस्सा विस्तार गर्नेछन्। यसले रक्षा, सुरक्षा र आपत्कालीन सेवाका लागि नेटवर्कको क्षमता बढाउनेछ।
यूरोपेली आयोगले भनेको छ, “यस विस्तारले ईयूभित्र सुरक्षित सरकारी सञ्चार क्षमता ६० प्रतिशत र विश्वव्यापी रूपमा ५४ प्रतिशतले बढाउनेछ। साथै संकटका समयमा महत्त्वपूर्ण सेवाका लागि युरोपको सहयोग गर्ने क्षमता उल्लेख्य रूपमा विस्तार हुनेछ।”
पूर्ण रूपमा सञ्चालनमा आएपछि आईरिस२ मा ३३० वटा एलईओ र १८ वटा मध्यम पृथ्वी कक्षा (एमईओ) का स्याटेलाइट हुनेछन्।
टेलिकम्स डटकमका अनुसार योजनामा गरिएको अर्को महत्वपूर्ण परिवर्तन प्रक्षेपणसम्बन्धी समयतालिका हो। आईरिस२ लाई सुरुमा सन् २०३० मा प्रक्षेपण गर्ने योजना थियो। तर ईयूका अनुसार अब सन् २०२९ देखि क्रमिक रूपमा कनेक्टिभिटी सेवा सञ्चालनमा ल्याउने “ठोस कदम” अघि बढाइएको छ।
त्यसअघि आईरिस२ को स्याटेलाइट समूहको विस्तृत योजना अन्तिम रूप दिन, स्याटेलाइट र जमिनमा आवश्यक पूर्वाधार निर्माणको तयारी गर्न तथा प्रक्षेपण साझेदार खोज्न बाँकी रहेको आयोगले जनाएको छ।
ब्रसेल्सले “परिवर्तन भइरहेको सुरक्षा वातावरण” का कारण आईरिस२ को आकार विस्तार गरिएको जनाएको छ। तर यसका लागि थप खर्च हुने भएको छ।
आयोगले थप कति रकम आवश्यक पर्ने भन्ने यकिन तथ्यांक दिएको छैन। उसले सन् २०२८ देखि २०३४ सम्मको ईयू बजेट र सदस्य राष्ट्र तथा गैर-सदस्य तेस्रो देशबाट हुने थप लगानीमार्फत रकम जुटाइने जनाएको छ।
तर हिस्पास्याटले छुट्टै विज्ञप्तिमार्फत केही तथ्यांक सार्वजनिक गरेको छ।
स्पेनको स्याटेलाइट सञ्चालक हिस्पास्याटका अनुसार आईरिस२ मा अब कुल १५.६ अर्ब यूरो लगानी हुने योजना छ। यसमध्ये ११.६ अर्ब युरो यूरोपेली आयोग र यूरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) बाट आउनेछ भने बाँकी ४ अर्ब युरो स्पेसराइजले लगानी गर्नेछ।
नोभेम्बर २०२२ मा आईरिस२ अघि बढाउने राजनीतिक सहमति हुँदा यसको बजेट २.४ अर्ब यूरो थियो।
हिस्पास्याटको विज्ञप्तिमा उसले आईरिस२ को जमिनमा आधारित पूर्वाधार निर्माणका लागि प्रमुख ठेकेदार बन्न १.६ अर्ब यूरोको सम्झौता पाएको पनि उल्लेख छ।
सम्झौताअन्तर्गत स्पेनको रक्षा कम्पनी इन्द्राको हिस्सा रहेको हिस्पास्याटले सम्पूर्ण स्याटेलाइट समूहका लागि एन्टेना पूर्वाधार, नियन्त्रण प्रणाली र जमिनमा रहेका नेटवर्कसँगको कनेक्सन निर्माण गर्नेछ।
“यसमा स्याटेलाइट समूहका विभिन्न कक्षीय तहको व्यवस्थापन र सञ्चालनका लागि आवश्यक सबै संरचना, जमिनमा रहेका नेटवर्कसँगको अन्तरसम्बन्ध तथा विभिन्न स्थानमा स्थापना गरिने अन्य पूर्वाधार समावेश छन्। यसले सरकारी कार्यक्रमका लागि आवश्यक कडा सुरक्षा र मजबुतीसम्बन्धी मापदण्ड पूरा गर्नेछ,” हिस्पास्याटले भनेको छ।
यो घोषणाले नयाँ स्याटेलाइट नेटवर्क डिजाइन र प्रक्षेपण गर्नु कति जटिल काम हो भन्ने देखाएको छ।
तर ईयूले यो लगानी उचित हुने विश्वास गरेको छ। आईरिस२ ले युरोपको आत्मनिर्भरता र सुरक्षा बलियो बनाउनुका साथै युरोपको अन्तरिक्ष उद्योगलाई पनि फाइदा पुर्याउने ईयूको भनाइ छ।
यसबाट स्पेसराइज र उसका औद्योगिक साझेदारहरू मात्र नभई एयरबस डिफेन्स एन्ड स्पेस, थेल्स एलेनिया स्पेस, ओएचबी र एरोस्पेसल्याबलगायत यूरोपेली आपूर्ति शृंखलाका विभिन्न कम्पनी तथा स्टार्टअप, साना तथा मझौला कम्पनी र मिड-क्याप कम्पनीले पनि लाभ पाउनेछन्।
आईरिस२ का अधिकांश महत्वपूर्ण तयारी पूरा भएसँगै अब यसको कार्यान्वयनमा ध्यान केन्द्रित हुने भएको छ।
प्रकाशित: २७ श्रावण २०८३, बुधबार