ठूला व्यवसायिक संस्थाबाट आउने सन्देशहरूका लागि नयाँ फोल्डर सुविधा ल्याउँदै ह्वाट्सएप

  • Technology Khabar | १९ श्रावण २०८३, मंगलवार
ठूला व्यवसायिक संस्थाबाट आउने सन्देशहरूका लागि नयाँ फोल्डर सुविधा ल्याउँदै ह्वाट्सएप

काठमाडौं ।

ह्वाट्सएपले बैंक, एयरलाइन्सजस्ता ठूला व्यवसायिक संस्थाबाट आउने सन्देशहरू व्यवस्थित गर्न नयाँ “अफर्स एण्ड अपडेट्स” फोल्डर ल्याउने तयारी गरिरहेको छ।

धेरै प्रयोगकर्ताको मुख्य च्याट सूचीमा ठूला व्यवसायबाट आउने छुट्टाछुट्टै सन्देशका कारण अव्यवस्था बढिरहेको समस्यालाई ध्यानमा राख्दै कम्पनीले यसको परीक्षण गरिरहेको नयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ।

यो सुविधाअनुसार ठूला व्यवसायबाट आएका सन्देशहरू प्राप्त भएको निश्चित समयपछि स्वतः “अफर्स एण्ड अपडेट्स” फोल्डरमा सारिनेछन्।

टेलिकम्स डटकमका अनुसार ह्वाट्सएपले यस सुविधाका लागि २४ घण्टासम्मका विभिन्न समयावधिको परीक्षण गरिरहेको छ। यदि प्रयोगकर्तालाई यो सुविधा मन नपरेमा एपको सेटिङ्सबाट बन्द गर्न सकिनेछ।

तर, प्रयोगकर्ताले आफूअनुसार समयावधि निर्धारण गर्न भने पाउने छैनन्। मेटाले तय गरेको विकल्प प्रयोग गर्नुपर्ने वा सुविधा पूर्ण रूपमा बन्द गर्नुपर्नेछ।

यस सुविधाको मुख्य उद्देश्य छुट कुपन, डेलिभरी अपडेटजस्ता सन्देशलाई मुख्य च्याट सूचीबाट अलग राखेर च्याट सूचीलाई सफा र व्यवस्थित बनाउनु हो।

हालका लागि साना व्यवसाय र व्यक्तिगत खाताबाट आउने सन्देशमा यो सुविधा लागू हुने छैन। तर भविष्यमा साना व्यवसायबाट आउने व्यवसायिक सन्देशलाई पनि यही फोल्डरमा सार्ने सम्भावना ह्वाट्सएपले अध्ययन गरिरहेको छ।

प्रकाशित: १९ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार