काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इञ्जिनियरको भूमिकामा निर्भर रहने बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालय, जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रद्वारा आज आयोजित सेवामा नवप्रवेशी इञ्जिनियरलाई सम्बोधन गर्दै उनले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुआत नभई राष्ट्र निर्माणको अभियानमा समर्पित गर्ने ऐतिहासिक अवसर भएको बताए।
मन्त्री श्रेष्ठले भने, “प्रत्येक निर्णय, प्राविधिक सुझाव र हस्ताक्षर कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्छ।”
राष्ट्रको विकास, सभ्यता र समृद्धिको इतिहास इञ्जिनियरको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र अथक परिश्रमसँग जोडिएको बताउँदै उनले सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, जलासय, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार, औद्योगिक संरचना तथा आधुनिक सहरको निर्माण इन्जिनियरको दूरदृष्टि र क्षमता निर्भर रहने धारणा राखे।
मन्त्री श्रेष्ठले राष्ट्रसेवामा ज्ञानसँगै चरित्रको पनि उत्तिकै महत्त्व रहेकाले सरकारी सेवामा प्राविधिक दक्षताभन्दा पनि नैतिक साहस कहिलेकाहीँ अझ महत्वपूर्ण बन्ने बताए।
उनले देशले नयाँ पुस्ताका इञ्जिनियरबाट केवल प्राविधिक दक्षता मात्र नभई नवीन सोच, सकारात्मक ऊर्जा, नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको उल्लेख गरे।
उनले इन्जिनियरिङलाई केवल गणित र विज्ञानको प्रयोगका रूपमा नभई समस्यालाई समाधानमा रूपान्तरण गर्ने सिर्जनात्मक क्षमता भएको क्षेत्रका रूपमा व्याख्या गरे। सफल इन्जिनियरले संरचना मात्र निर्माण नगरी अवसर, विश्वास र भविष्य निर्माण गर्ने भएकाले उनीहरूको भूमिका राष्ट्र विकासमा अत्यन्त महत्वपूर्ण रहेको उनले उल्लेख गरे।
पूर्वाधार निर्माणमा गुणस्तरप्रति कुनै सम्झौता गर्न नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले डिजाइनदेखि कार्यान्वयन, सुपरिवेक्षणदेखि परीक्षणसम्म प्रत्येक चरणमा उच्च गुणस्तर कायम गर्न निर्देशन दिए। सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले प्राविधिक मापदण्ड र व्यावसायिक नैतिकतालाई कडाइका साथ पालना गर्न उनले आग्रह गरे।
उनले देशले नयाँ पुस्ताका इन्जिनियरहरूबाट केवल प्राविधिक दक्षता मात्र नभई नवीन सोच, सकारात्मक ऊर्जा, नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको उल्लेख गरे।
प्रकाशित: १८ श्रावण २०८३, सोमबार