‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’

  • Technology Khabar | १८ श्रावण २०८३, सोमबार
‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’
फाइल तस्बिर। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादी।

काठमाडौं ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले महिला, बालबालिकामाथि हुने डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक रहेको बताएकी छन्।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिमा आज सामाजिक सञ्जालको अवस्थाबारे भएको छलफलमा मन्त्री वादीले सामाजिक सञ्जालको नियमन गर्नुपर्नेमा जोड दिइन। उनले बालबालिका र महिला सबैभन्दा बढी डिजिटल हिंसामा पीडित भएका उल्लेख गर्दै साइबर ब्युरोलाई उजुरी प्रणाली सहज र प्रभावकारी बनाउन निर्देशनसमेत दिइन्।

समितिका सभापति आकृति अवस्थीले पछिल्लो समय डिजिटल हिंसा बढ्दो अवस्थामा रहेकाले साइबर सुरक्षाको दृष्टिलाई ध्यानमा राख्दै एकीकृत डिजिटल हिंसासम्बन्धी कानुन निर्माण गर्न आग्रह गरिन्। समाजिक सञ्जालको अवस्थाबारे गरिएको छलफल पश्चात सभापति अवस्थीले भनिन्, “डिजिटल हिंसाको अवस्था भयावह हुँदै गएको छ। यस्तो अवस्थामा एउटा एकीकृत कानुन आवश्यक छ।” उनले कानुन मन्त्रालय, महिला मन्त्रालयलगायत सम्बन्धी मन्त्रालयहरुलाई उक्त सुझाव दिएकी हुन्।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउनुका साथै डिजिटल साक्षरतासमेत बढाउनु पर्ने धारणा राखे। बैठकमा साइबर ब्युरोको प्रतिवेदनसमेत पेस गरिएको थियो।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले साइबर सुरक्षाको अवस्था जटिल बन्दै गएको बताए। उनले साइबर अपराधको उजुरीलाई तत्काल सम्बोधन गर्न प्रर्याप्त स्रोतसाधान, जनशक्तिको व्यवस्था र ब्युरो चुस्त दुरुस्त बनाउनुपर्ने बताए। उनले भने, “साइबर क्राइम न्यूनीकरण गर्न समय सापेक्षको कानुन निर्माण, प्रहरी संयन्त्र बलियो बनाउनुको साथै नागरिकस्तरको जनचेतना वृद्धि गर्नुपर्छ।” रासस

प्रकाशित: १८ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार