यूट्युबमार्फत भ्रामक सूचना फैलाउने एक जना पक्राऊ

  • Technology Khabar | १७ श्रावण २०८३, आईतवार
यूट्युबमार्फत भ्रामक सूचना फैलाउने एक जना पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत भ्रामक तथा राज्यको विद्यमान परिवेशलाई प्रत्यक्ष असर पार्ने तवरबाट सामाजिक रुपमा असर पर्ने सामग्री प्रसारण गरेको आरोपमा एक जनालाई पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा अर्घाखाँची जिल्ला, सन्धिखर्क नगरपालिका–१ घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय जनक भुसाल रहेका छन्। इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा साउन १६ गते बुटवलबाट पक्राऊ गरिएको हो।

साइबर ब्यूरोका अनुसार नेपाली खबर टिभी नामक यूट्युब च्यानलमार्फत जातीय तथा धार्मिक हिंसात्मक तथा ध्वंसात्मक गतिविधिहरूमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित र आक्रमक बनाउने साथै, कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामाग्रीहरू वा कसै प्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन, प्रदर्शन र प्रशारण गर्ने कार्यमा संलग्न भएको पाइएपछि उनीमाथि अनुसन्धान अघि बढाइएको थियो।

पक्राउ परेका भुसालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार