काठमाडौं ।
सरकारले सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा डा. कमल प्रसाद पोखरेल (शर्मा) लाई सरुवा गरेको छ।
सरकारले चार जना सचिवको सरुवा गरेकोमा पोखरेललाई सञ्चार मन्त्रालयमा पठाएको हो। गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गर्नुका साथै एक वरिष्ठ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गरिएको हो।
सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत सचिव लक्ष्मीकुमारी बस्नेतलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको रुपमा पठाइएको छ।
तर औपचारिकरुपमा अहिलेसम्म मन्त्रालयमा पोखरेल आईसकेका छैनन र बस्नेत बिहिबारसम्म सञ्चार मन्त्रालयको वार्षिक समीक्षा बैठकमा उपस्थित थिईन्। यसैगरी, मन्त्रालयको वेबसाइटमा अझै बस्नेतलाईनै सचिवको रुपमा प्रस्तुत गरिएको छ।
यस्तै मन्त्रालयका सहसचिव सुवास चन्द्र शिवाकोटीको समेत सरकारले सरुवा गरेको छ। उनलाई पनि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्रालयबाट सिधै दाङस्थित तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा पठाएको छ।
सञ्चार सचिव पोखरेल त्यसअघि शिक्षा मन्त्रालयमा सहसचिवको रूपमा रहँदै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको रूपमा जिम्मेवारी सम्हालेका थिए।
२०८२ माघमा राधिका अर्यालसँग सट्टापट्टा सरुवाबाट सञ्चार मन्त्रालयमा आएकी सचिव बस्नेत छ महिनामै पुनः सरुवामा परेकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवका रूपमा सरुवा गरिएको छ।
बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ। अनिवार्य अवकाश नजिकिएकाले उनलाई अतिरिक्त समूहमा राखिएको जनाइएको छ।
त्यसैगरी, बागमती प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई दिइएको छ।
प्रकाशित: १५ श्रावण २०८३, शुक्रबार