रूपन्देहीमा ‘भीओआईपी कल’ बाइपास गर्ने उपकरणसहित एक जना पक्राउ

  • Technology Khabar | १५ श्रावण २०८३, शुक्रबार
रूपन्देहीमा ‘भीओआईपी कल’ बाइपास गर्ने उपकरणसहित एक जना पक्राउ

काठमाडौं ।

रूपन्देहीमा ‘भीओआईपी कल’ बाइपास गर्ने उपकरणसहित एक जना पक्राउ

रूपन्देहीमा अवैध रूपमा ‘भ्वाइस ओभर इन्टरनेट प्रोटोकल’ (भीओआईपी) कल बाइपास गरिरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१, बेलहियास्थित बसपार्क क्षेत्रमा लामो समयदेखि निगरानीमा रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। गत जेठ १३ गते साँझ करिब १० बजे जिल्ला प्रहरी कार्यालय रूपन्देही तथा मातहतको प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले बेलहियाबाट खटिएको प्रहरी टोलीले न्यू मुक्ति होटल एन्ड रेस्टुरेन्टको दोस्रो तलामा कोठा भाडामा लिएर बसेका जिल्ला गोर्खा चुमनुब्री गाउँपालिका–४ का ६२ वर्षीय छिरिङ गुरुङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले गुरुङले भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (VoIP) मार्फत कल बाइपास गर्न प्रयोग गरेका विभिन्न उपकरण तथा सामग्री बरामद गरेको जनाएको छ।

पक्राउ परेका गुरुङलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको ‘भीओआईपी कल बाइपास’सम्बन्धी कसुरमा जेठ १४ गते रूपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद सामग्रीमा सिमकार्ड जडान भएको डिभाइस २ थान, वर्ल्डलिंक राउटर २जी/५जी १ थान, वाइफाइ ६ प्लस राउटर ४जी/५जी १ थान, विभिन्न कम्पनीका मोबाइल ३ थान, एएसियन कम्पनीका १२ भोल्टका ब्याट्री १ थान, अमाजे कम्पनीको इन्भर्टर १ थान, मल्टिप्लग १ थान, भारतीय सिमकार्ड ५६ थान, एनसेल सिमकार्डका खोल ३८ थान, एनटीसीको सिमकार्ड १ थान, आरजे–४५ केबल ३ थान र चाइनिज सिमकार्ड ३ थान छन्।

त्यस्तै, प्रहरीले टेबल पंखा १ थान, नेपाली १ हजार रुपैयाँका नोट ११ थान, भारतीय ५०० रुपैयाँका नोट १४ थान, भारतीय १०० रुपैयाँका नोट ९ थान, २–२७७ र ९५९७ नम्बरको वाममती प्रदेशको स्कुटर १ थान, नेपाली नागरिकता १ थान, भारतीय निर्वाचन कार्ड १ थान तथा नेपाली सवारी चालक अनुमतिपत्र १ थान समेत बरामद गरेको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: १५ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार