काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआईबी)ले उनलाई स्मार्ट टेलिकमको विषयमा बुझ्न पक्राउ गरेको छ।
स्रोतले दिएको जानकारीअनुसार भण्डारीलाई यस बारेमा बुझ्न सम्पर्क गर्ने प्रयास गर्दा उनको फोन स्वीच अफ रहेको देखिन्छ।
यसअघि सिआईबीले एनसेल र स्मार्ट टेलिकमको विषयमा व्यवसायी उपेन्द्र महतोसँग सोधपुछ गरेको बताईएको थियो।
भण्डारी पक्राउ परेको विषयमा जानकारी माग्दा सिआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक अनुपम शमशेर ज.ब.रा.ले खबरको पुष्टि गरे।
“उहाँ हामीसँगै हुनुहुन्छ। त्यहि (स्मार्ट टेलिकम) केसमा अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं,” जबराले टेक्नोलोजीखबरलाई भने।
प्रवक्ता जबराका अनुसार उनी बिहिबार बेलुका देखि सिआईबीको नियन्त्रणमा छन्।
यस्तै महतोलाई भने स्मार्ट टेलिकमको विषयमा नभई अन्य बिषयमा जानकारी माग्न बोलाईएको र महतो हाजिर जमानीमा हिजै गईसकेको प्रवक्ताले जानकारी दिए।
सिआईबीले यसअघि स्मार्ट टेलिकमको उपकरणहरु बैंकिङ्ग लिलामीको प्रकरणमा कम्पनीका संचालक सर्वेश जोशी तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डेलाई समेत पक्राउ गरेको थियो।
बैंकर पाण्डेलाई सर्वोच्च अदालतले छाड्ने आदेश दिएसँग रिहा भएका थिए भने जोशीलाई केहि दिनपछि प्रहरीले हाजिर जमानीमा छाडेको थियो।
प्रकाशित: १५ श्रावण २०८३, शुक्रबार