सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

  • Technology Khabar | १२ श्रावण २०८३, मंगलवार
सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं ।

आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम गर्ने उद्देश्यले सिन्धुलीमा ‘रक्तसेवा’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको छ।

गैरसरकारी संस्था न्यू स्टेप परियोजनाको आर्थिक सहयोगमा विकास गरिएको उक्त प्रणालीमार्फत आवश्यक परेका बेला रक्तदाता तथा रक्तसेवासँग सहज रूपमा सम्पर्क गर्न सकिने छ।

सिन्धुली बहुमुखी क्याम्पस तथा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटका विद्यार्थीको प्राविधिक सहयोगमा सो प्रणाली सञ्चालन हुनेछ। प्रणालीको खाका तयारी, डिजाइन, कोडिङ, तथ्याङ्क व्यवस्थापन तथा परीक्षणसम्मका सम्पूर्ण चरण विद्यार्थीले नै पूरा गरेका थिए भने अहिले यसको सञ्चालन, अनुगमन र नियमित अद्यावधिकको जिम्मेवारी पनि उनीहरूकै नेतृत्वमा रहेको छ।

रक्तसेवालाई प्रविधिसँग जोडेर अझ छिटो, भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यका साथ यो प्रणाली क्यूआर कोडसहित सार्वजनिक गरिएको छ। क्यूआर कोड स्क्यान गरी सेवाग्राहीले आवश्यक जानकारी प्राप्त गर्नुका साथै आपतकालीन अवस्थामा रगत आवश्यक परेका बेला सम्बन्धित व्यक्तिसम्म छिटो पुग्न सक्ने विश्वास गरिएको छ।

अस्पताल विकास समितिका अध्यक्ष शतिसचन्द्र ढकालले नयाँ प्रविधिको प्रयोगले जिल्लामा रक्तसेवा थप व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

न्यू स्टेप परियोजनाका कार्यक्रम प्रमुख प्रशान्त ढकालले रक्तसेवा प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले यो प्रणाली विकास गरिएको जानकारी दिए। उनका अनुसार आगामी दिनमा प्रणालीलाई थप परिमार्जन गर्दै जिल्लाभरका स्वास्थ्य संस्था, रक्तदाता समूह तथा सरोकारवाला निकायसँग समन्वय गरी यसको प्रयोगलाई अझ प्रभावकारी बनाइनेछ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालले रगत आवश्यक पर्नेहरूलाई यो प्रणालीले उल्लेख्य सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।-रासस

प्रकाशित: १२ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Nepal certifies first cohort of Driving Naari Nepal

  • Technology Khabar
  • १२ श्रावण २०८३, मंगलवार