टीभीएस अर्बिटर इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, १५८ किलोमिटर रेन्ज र क्रुज कन्ट्रोललगायत विशेषता

  • Technology Khabar | ९ श्रावण २०८३, शनिबार
टीभीएस अर्बिटर इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, १५८ किलोमिटर रेन्ज र क्रुज कन्ट्रोललगायत विशेषता

काठमाडौं ।

टीभीएस मोटर कम्पनीले नेपालमा नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटरसार्वजनिक गरेको छ। कम्पनीले सहरी यात्रुलाई लक्षित गर्दै ल्याएको यो स्कुटर १५८ किलोमिटर (आईडीसी) रेन्ज, ३४ लिटरको अन्डर-सिट बुट स्पेस, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट तथा स्मार्ट कनेक्टेड फिचरसहित बजारमा ल्याएको जनाएको छ।

कम्पनीका अनुसार टीभीएस अर्बिटरमा ३.१ किलोवाट आवर ब्याट्री प्याक प्रयोग गरिएको छ। उद्योगमै पहिलो पटक १४ इन्चको फ्रन्ट ह्विल समावेश गरिएको दाबी गर्दै कम्पनीले यसले स्थिरता, राइड कम्फर्ट तथा ह्यान्डलिङमा सुधार गर्ने जनाएको छ।

स्कुटरमा आधुनिक एरोडाइनामिक डिजाइन, ८४५ मिमी लामो फ्ल्याटफर्म सिट, २९० मिमी स्ट्रेट-लाइन फुटबोर्ड तथा दुईवटा हेल्मेट अट्ने ३४ लिटरको स्टोरेज स्पेस उपलब्ध छ।

यसमा कनेक्टेड मोबाइल एप, कल डिस्प्ले भएको कलर एलसीडी क्लस्टर, यूएसबी २.० चार्जिङ पोर्ट, टर्न-बाइ-टर्न नेभिगेसन, ओटीए अपडेट, इको र पावर मोड, रिजेनेरेटिभ ब्रेकिङ, क्रुज कन्ट्रोल, पार्किङ असिस्ट तथा हिल होल्ड असिस्टजस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। साथै दुर्घटना, चोरी, जियोफेन्सिङ, टाइम फेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ र आपतकालीन अलर्टजस्ता सुरक्षा फिचर पनि उपलब्ध छन्।

टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेयमन कार्गरले नेपालमा अर्बिटर सार्वजनिक हुनु कम्पनीको विद्युतीय मोबिलिटी विस्तार गर्ने रणनीतिको महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार कम्पनीले स्वच्छ, स्मार्ट र दिगो यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नयाँ ईभी समाधानहरू बजारमा ल्याइरहेको छ।

शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टीभीएस आईक्युबको सफलतापछि अर्बिटर ले पनि नेपालको दुईपाङ्ग्रे ईभी बजारमा कम्पनीको उपस्थिति थप बलियो बनाउने विश्वास व्यक्त गरे। देशव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धता पनि उनले जनाए।

टीभीएस अर्बिटरनेपालमा नियोन सनबर्स्ट, कस्मिक टाइटानियम र मार्शियन कपर गरी तीन रंगमा उपलब्ध हुनेछ। यसको शुरुवाती मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

प्रकाशित: ९ श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...